Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अन्तिममा टिकट बुकिङ खुलाएर मनोमानी भाडा असुल्ने योजना

काठमाडौँ, भदौ २४ । दसैँ, तिहारको अवसरमा मनोमानी भाडा असुल्ने र कोचाकोच यात्रु भर्ने दाउमा यातायात व्यवसायीले अहिलेसम्म बसको अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । अन्तिम समयमा टिकट बुकिङ खुला गरेर मनोमानी पैसा असुल्ने योजनामा व्यवसायी लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन र बसमा क्यारियर (छत) राख्न पाउनु पर्ने माग गर्दै आएको थियो । यिनै माग पूरा नभएको बाहनामा महासङ्घले अन्तिममा टिकट खुलाएर भीड बढाउने र जति भन्यो त्यति पैसा यात्रुलाई तिर्न बाध्य बनाउने योजनामा व्यवसायी लागेको विभागको आरोप छ ।

महासङ्घका मागका बारेमा सहमति भई कार्यान्वयनका लागि काम भइरहेको विभागले जनाएको छ । सहमति भएर प्रक्रिया अघि बढिसकेपछि पनि अग्रिम टिकट बुकिङ खुला नगरिनु व्यवसायीको दादागिरी भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईको भनाइ छ, उनले भने । उनीहरूले नियतवश भाडा बढाउन खोजिरहेका छन, हामी तत्काल बढाउँदैनौँ भाडा समायोजनको विषयमा कार्यदलले काम गरिरहेको छ त्यस अनुसार समायोजन हुन्छ, प्रक्रिया अघि बढेको छ तर पनि टिकट खुला नगर्नुमा उनीहरूको ‘इन्टरेस्ट’ अर्कै छ जस्तो देखिन्छ ।

शुक्रबार पनि यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुला गर्न महासङ्घलाई लिखित आग्रह गरेको छ ।

यदि अग्रिम बुकिङ खुला नगरिए कारबाहीको प्रक्रियामा पनि जान सकिने विभागले जनाएको छ । महानिर्देशक भट्टराईको भनाइ छ यसका बारेमा हामी वैकल्पिक तयारी पनि गर्दैछौँ । – गोरखापत्रबाट 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: