प्रचण्डले भने– अब देशको बागडोर सम्हाल्न पाए समृद्धि र विकासको नयाँ युगमा पुर्याउँछौं

सिम्रौनगढ (बारा) भदौ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाबबाट आफ्नो पार्टीलाई देशको बागडोर सम्हाल्ने अवसर दिए मुलुकलाई समृद्धि र विकासको नयाँ युगमा पुर्याउने बताएका छन ।

आगामी असोज २ गते २ नं. प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको चुनाबको प्रचार–प्रचारका लागि बाराको सिम्रौनगढमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादीले मात्र देशको विकास र समृद्धिको नेतृत्व गर्न सक्छ, जनताको जीवन बदल्न सक्छ । अब देशको बागडोर सम्हाल्ने अवसर दिनुस्, हामी देशलाई समृद्धि र विकासको नयाँ युगमा पुर्याउँछौं।’
पूर्वप्रधानमन्त्रीसमेत रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दिल धेरै ठूलो भएको बताए । ‘माओवादीको दिल निकै ठूलो छ, हामीमा संकिर्ण सोच छैन’, सिम्रौनगढमा आयोजित सभामा प्रचण्डले भने, ‘माओवादीको दिल निकै ठूलो छ। हामीमा संकिर्ण र अतिवादी सोच छैन। हामी हिमाल, पहाड र मधेशका जनतालाई समान माया गर्छौ, सम्मान गर्छौं, हामी कसैलाई अपमान गर्दैनौं र संकिर्ण सोच राख्दैनौं ।’

‘माओवादी मात्रै जनताको असली मित्र हो, साथी हो। हामी मधेशमा पहिचान, अधिकार र आर्थिक विकासको नेतृत्व गर्न चाहन्छौं’ प्रचण्डले भने, ‘तपाईहरुमा जुन जागरण आएको छ, अब माओवादीले त्यसको नेतृत्व गर्नेछ।’

चनाबी कार्यक्रममा सहरी विकास मन्त्री प्रभू साहले मधेशको मुहार फेर्न राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजारभन्दा बढी नेता र कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।

कमेन्ट गर्नुहोस्