Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीकृष्ण चिन्तन महाकाव्यको लोकार्पण कार्यक्रम

काठमाडौं, असोज २ । लोक महाकवि कुलचन्द्र उपाध्याय बराल, बहुप्रतिभाशाली लेखक हुन् । सर्लाहीको हरिवन कर्मथलो बनाएर साहित्य सिर्जना गर्ने कविका यसअघि श्रीकृष्ण लीला हरिकीर्तन (खण्डकाव्य–२०३६), सौगात (खण्डकाव्य–२०३६), प्रत्यक्ष प्रश्नावली (फलित ज्योतिष सम्बन्धी काव्य–२०६६) प्रकाशित छन् भने ‘चरित्र नै चरित्र’, परिवर्तन (महाकाव्य), तीर्थयात्रा (पूर्वको यात्रा वराहक्षेत्र) द्यौसिरे गाथा, वातावरणमा बसौ मिलेर (लोक भजन संग्रह), स्मृति, सन्दर्भ लगायत अन्य फुटकर रचनाहरू अप्रकाशित छन् ।

नेपाली लोक भजनको शैलीमा लेखिएको ‘श्रीकृष्ण चिन्तन’ लोक महाकाव्य नेपाली साहित्यको क्षेत्रमा एउटा नौलो प्रयोग भएको छ ।

भागवतको बारेमा जान्न इच्छुक पाठकहरूका लागि यस महाकाव्यले एउटा नयाँ खुराक प्रदान गरेको हो । कविले समग्र भागवतको सार खिची सरल नेपाली भाषामा जोकोहीले पनि पढ्न र प्रयोग गर्न सक्ने गरी पाठक सामू प्रस्तुत गरेका छन् ।

कविले आजको समाजको व्याख्या गर्दै भागवतले तत्कालीन अवस्थामा उल्लेख गरेको कुरालाई प्रथम अध्यायको ३६ सौं श्लोकमा यसरी व्यक्त गरेका छन्ः–

तरुणि प्रभूता गेहे श्यालको बुद्धिदायकः – भागवत

यसलाई लोक लयमा– जारपुत्र होलान् धेरै हुँदा सालाखाला

स्वास्नी होलान्, घरका धनी मन्त्री होलान साला

विश्वासघाती मित्र होलान् पञ्च पक्षपाती

सबै चिज थुप्रियला यौटै पैसा माथि १–३६।।

यसैगरी धर्मको बारेमा कवि लेख्छन्ः–

धर्म छैन विदेश घुम्नु लट्टा कसीकसी

धर्म हुन्छ जानेदेखि घरै बसीबसी

दिनभरी उद्योग गरौ पेटभरि खाउँ

साँझ विहान फुर्सद लिउँ हरिभजन गाउँ

युगै अनुसारको ।

हुन्छ धर्म गर्दा कर्म, युगै अनसारको १९-२२।।

प्रयोगात्मक रूपमा लिन इच्छुक पाठक वा भक्तजनहरूका लागि लेखकले सुरूमै भट्याउने तरिका, भट्याउने, नाच्ने र गाउनेको संख्या समेत तोकिदिएर सबैलाई सजिलो पारिदिएका छन् ।

भागवतको बारेमा सम्पूर्ण ज्ञान दिने र भजन कीर्तन मार्फत श्रीकृष्णको चिन्तन गर्न चाहनेहरू सबैलाई उपयोगी हुने यो महाकाव्यलाई महाकविले १९ वटा चिन्तनमा प्रस्तुत गरेका छन् । लेखकीयमै यस महाकाव्यको बारेमा सारसंक्षेप (साराशं) लेखी प्रत्येक चिन्तनमा के छ भन्ने कुराको बारेमा संक्षेपमा प्रस्तुत गरेर समय आभाव हुनेलाई आफ्नो ईच्छा अनुसारको चिन्तन, पढ्न र प्रयोग गर्न अझ सजिलो बनाई दिनुभएको छ ।

शिक्षण पेशा र कृषि पेशाबाट फुर्सद निकालेर साहित्य सिर्जना गर्नु त्यसमा पनि राजधानी भन्दा टाढा मोफसलमा बसेर साहित्य सिर्जना गर्नु अझ त्यसमा पनि १०–४ को शिक्षण पेशा र बाँकी सम्पूर्ण समय कृषि पेशामा खर्चिने लेखकले रातको समयको सदुपयोग गर्दै महाकाव्य तयार गरेर सराहनीय कार्य गरेका छन् ।

महाकविको यो महाकाव्यको लोकार्पण नेपाल संस्कृत विश्वविद्यालय ने.सं.वि.वि.का. उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला, प्राज्ञ दिनेशराज पन्त (ने.प्र.प्र.), प्राज्ञ मातृका पोखरेल (ने.प्र.प्र.), राष्ट्रिय धर्म सभाका अध्यक्ष प्रा.डा. माधव भट्टराई, वाल्मीकी विद्यापिठका प्राचार्य डा. गणेश प्रसाद घिमिरे, ने.सं.वि.वि.का. निर्देशक डा. काशीनाथ न्यौपानेले एक समारोह बीच भदौ २९ गते लोकार्पण गर्नुभयो । कुल २४६ पेजको यस पुस्तकको वितरक कालिन्चोक बुक सेन्टर प्रदर्शनी मार्ग रहेको छ भने प्रकाशक श्रीमती इन्दिरा बराल हुनुहुन्छ ।

भानुभक्तको रामायणपछि नेपाली लोकलय (भजन) को शैलीमा लेखिएको महाकाव्य सम्भवत यो नै पहिले हुनेछ । र आजको पाठकलाई यो महाकाव्यले अवश्य नै नयाँ स्वाद दिनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: