बजार अनुगमनमा आपूर्ति राज्यमन्त्रीलार्इ विषयगत कार्यालयकाे असहयोग

लोकेश धामी, धनगढी । ठूला चाडपर्व शुरु हुनै लाग्दा पनि चाडपर्व लक्षित बजार अनुगमन शुरु हुन नसकेको कैलालीमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिक आफै बजार अनुगमनमा निस्किएका छन् ।

राज्यमन्त्री बिकले मंगलबार यहाँका धनगढी र अत्तरीया क्षेत्रका केही खाद्य उद्योग र पेट्रोल पम्पहरुको अनुगमन गरेका हुन् ।

राज्यमन्त्री बिकको टोलीले गोदावरी नगरपालिका–५, गेटामा रहेको आरपी एग्रो इण्डस्ट्रिज, आरपी फुड एण्ड कन्फेक्सनरी र धनगढी राजपुरमा रहेको राजश्री फुड इण्डष्ट्रिजको अनुगमन गरेको हो ।

राज्यमन्त्री बिकको टोलीले आरपी एग्रो इण्डस्ट्रिज तथा आरपी फुड एण्ड कन्फेक्सनरीद्धारा उत्पादित सामग्रीको गुणस्तर तथा म्याद पनि अवलोकन गरेको थियो ।

राज्यमन्त्री बिकले बस्तुको गुणस्तर तथा म्यादमा ध्यान दिन सुझाव दिदै जनताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने वस्तुको उत्पादन तथा बिक्री नगर्न समेत उद्योगीहरुलाई निर्देशन दिए ।

उद्योग भित्र सरसफाईमा बिशेष ध्यान दिन र कर्मचारीलाई नेपाल सरकारले तोके अनुसारको ज्याला दिन समेत उद्योग संचालकलाई राज्यमन्त्रीले निर्देशन दिएका थिए ।

अनुगमन गरिएका उद्योगमा देखिएका कमजोरी सुधार गर्न राज्यमन्त्री बिकले निर्देशक दिएका थिए ।

अनुगमनका क्रममा उपभोग्य अवधि सकिएका केही सामान समेत जफत गर्नुका साथै राज्यमन्त्रीको टोलीले चामलको नमूना समेत परीक्षणका लागि लिएको छ ।

अनुगमन गरिएका उद्योग भित्रको अवस्था कमजोर रहेको पाइएको उल्लेख गर्दै राज्य मन्त्री बिकले देखिएका कमजोरी सुधार गर्न निर्देशन दिईएको बताए ।
अनुगमनपछि पत्रकारसंग कुरा गर्दै राज्यमन्त्री बिकले भने–‘काम गर्ने कर्मचारीले पनि समान ज्याला र नेपाल सरकारले तोके अनुसार न्यूनतम ज्याला नपाएको देखियो ।’

पछिल्लो केही समययता कालोबजारी तथा म्याद सकिएका सामानको बिक्री वितरण व्यापक रहेकाले त्यस्तो कार्य नियन्त्रण गर्ने उद्देश्यले देशभरी बजार तथा उद्योगहरुको अनुगमन तीव्र पारिएको उनले बताए । उनले सम्बन्धित निकायहरुलाई पनि बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको बताए । व्यवसायी र नियमनकारी निकायबीच बलियो सम्बन्ध बनाएर बजारमा हुने कालोबजारी हटाउनु पर्नेमा उनले जोड दिए ।

यस्तै राज्यमन्त्री बिकले अनुगमनका बेला टोलीमा गएका विषयगत कार्यालयका कर्मचारीले असहयोग गरेको बताए छन् । सरोकारवाला कार्यालयका प्रमुखहरुले अनुगमनका बेला चाहिने कागजात तथा सामग्री समेत बोकेर नल्याउँदा समस्या भएको राज्यमन्त्री बिकले बताए ।

अनुगमनका बेला सहभागी विषयगत कार्यालयका कर्मचारीले वास्ता नगरेको देखिएको राज्यमन्त्री बिकले बताए । राज्यको नून खाइसकेपछि प्रभावकारी काम गर्न कर्मचारीले विशेष ध्यान दिनुपर्ने उनले बताए ।
राज्यमन्त्री बिकसहितको टोलीले पेट्रोल पम्पको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा मूल्य सूचि नराखेको भेटिएका पेट्रोल पम्पमा तत्काल मूल्य सूची राख्न त्यसका सञ्चालकलाई राज्यमन्त्री बिकले निर्देशन दिएका थिए ।

बजार अनुगमनलाई तीव्रता दिन निर्देशन

सरोकारवाला निकायका अधिकारी गम्भीर नबन्दा सरकारले निर्देशन दिए पनि कैलालीमा अनुगमनको पाटो निकै कमजोर रहेको आफूले पाएको राज्यमन्त्री बिकले बताए । उनले अनुगमनलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए ।

‘देशका अन्य जिल्ला भन्दा कैलालीमा अनुगमनको पाटो निकै कमजोर रहेको छ ।’ आपूर्ति मन्त्रालयका अनुगमन शाखा अधिकृत गोबिन्द लुँइटेलले भने–‘देशभर नै प्रभावकारी रुपमा अनुगमन गर्न मन्त्रालयले सरोकारवाला निकायलाई निर्देशन दिईसकेको छ तर यहाँ अनुगमन भएको पाईएन ।’
शाखा अधिकृत लुँईटेलले यहाँका खाद्य पसलदेखि उद्योगको अनुगमन अवस्था कमजोर हुँदा उपभोक्ता ठगिरहेका बताए । नियमित अनुगमन भए मात्रै उपभोक्ताको खाद्य अधिकार सुरक्षित हुने भएकाले त्यसमा सबैले ध्यान दिन आवश्यक रहेको उनले बताए ।

मन्त्रालयले अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले धनगढीमा अनुगमन गरिएको बताइएको छ । अनुगमनमा जानु भन्दा पहिले जिल्ला प्रशासनमा बसेको बैठकमा यहाँका विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई राज्यमन्त्री बिकले अनुगमनको पाटोलाई चुस्त बनाउन निर्देशन दिएका हुन् ।
कैलालीमा अनुगमन गर्ने कार्य निरन्तर नहुँदा कालोबजारी तथा म्याद गएका बस्तु बिक्री व्यापक बढेका गुनासो आएकाले त्यसको न्यूनिकरण गर्न मौसमी अनुगमन मात्र नगर्न विषयगत कार्यालयका प्रमुखलाई उनले निर्देशन दिए ।

‘मौसमी अनुगमन मात्र होईन, बजार अनुगमन नियमित गर्नोस । नियमित अनुगमन हुनसके मात्र बजारमा खाद्य स्वच्छता कायम हुन्छ ।’ उनले भने । मंगलबार गरिएको अनुगमनमा यहाँस्थित अनुगमनको जिम्मा पाएका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बुधबार पनि कैलालीका विभिन्न स्थानमा बजार अनुगमन गरिने उक्त टोलीले जनाएको छ । यसपछि कञ्चनपुरमा बजार अनुगमन गरिने मन्त्रालयको टोलीले जानकारी दिएको छ । कैलालीमा चाडपर्व लक्षित अनुगमनसमेत हुन सकेको थिएन ।

जसले गर्दा बजारमा कतिपय पसलमा उपभोग्य अवधि सकिएका, अखाद्य, गुणस्तहिन सामानहरु बिक्री भईरहेका छन् । विगमा चाडपर्व शुरु हुनुअघि गरिने संयुक्त अनुगमन भएको छैन । अनुगमनको जिम्मा स्थानीय तहको भएको भन्दै सरोकारवाला निकायले संयुक्त बजार अनुगमन नगरेका हुन् ।

बजार क्षेत्रमै गुणस्तरहिन सामान बिक्री भईरहेका बेला ग्रामीण क्षेत्रमा यस्ता सामानको बिक्री अझ बढी भईरहेको उपभोक्ता अधिकारकर्मीको भनाई छ । बजारमै अनुगमन नभईरहेका बेला गुणस्तरहिन सामान बिक्री हुनका साथै व्यवसायीहरुले मूल्यमा मनपरी गरिरहेका बताइएको छ ।

कमेन्ट गर्नुहोस्