चितवनमा प्रचण्डको उम्मेदवारीले ल्यायो नयाँ तरङ्ग, कांग्रेस–एमालेका नेताहरु समेत उत्साहित

चर्चामा प्रचण्ड

नारायणघाट, असोज ६ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनबाट केन्द्रको निर्वाचनमा उम्मेदवारी दिने घोषणाले चितवनमा नयाँ तरङ्ग निम्त्याएको छ ।

राजनीतिकरुपमा फरक विचारधारा बोकेका अन्य दलका नेताहरु समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचन लड्ने भएपछि उत्साहित भएका छन् ।

राष्ट्रिय नेता चितवनबाट उठ्ने भन्दै कांग्रेस र एमालेका नेताहरुले खुसी व्यक्त गरेका हुन ।

विगतका दिनमा पार्टीलाई भोट दिने चलन भएपनि प्रभावशाली व्यक्ति नजित्दा जुनसुकै पार्टीबाट जितेपनि जिल्लाका लागि केही गर्न नसक्ने रहेछ भन्दै अन्य दलका नेताहरुले प्रचण्डको उम्मेदवारीको स्वागत गेका हुन ।

“पार्टी त सबै जिते नि यहाँबाट, तर चितवनको विकासमा चाहेर पनि उनीहरुले उल्लेख्य केही गर्न सकेनन ।” नेपाली कांग्रेस समर्थक कैलास रिजालले भने, “त्यसैले जिल्लाको विकासका लागि पार्टी भन्दा पनि बजेट ल्याउन सक्ने र प्रभाव पार्न सक्ने नेता चाहिने रहेछ । प्रचण्डमा यो खुबी छ, त्यसैले यसपाली उनलाई नै जिताइन्छ ।”

विगत केपी शर्मा ओलीको कार्यकालमा र आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रचण्डले चितवनको विकासका लागि खेलेको भूमिका निकै प्रशंसनीय भएको एमाले समर्थक कमल बन्जाडेले बताए । “एमालेबाट प्रभावशाली नेता नै भएनन्, बिभिन्न समयमा हाम्रै सरकार भएको बेला समेत बिभिन्न मन्त्रालयमा पहुँच राख्न सकेनन जितेका सांसदहरुले ।” बन्जाडेले भने, “समय परिवर्तन भएछ, व्यक्तिको भूमिका जिल्लाका लागि के कस्तो हुन्छ भन्ने आँकलन गरेर भोट हाल्नुपर्ने देखिन्छ ।”

खुलेर प्रचण्डको पक्षमा प्रचार गर्न नसकिएपनि जिल्लाको विकासका लागि उनलाई नै विजय गराउनुपर्ने बन्जाडेले बताए ।

भोलीका दिनमा कुन जिल्लाको भन्दा प्रचण्डको जिल्ला भनेर चिनाउँदा त्यसको बेग्लै अर्थ हुन्छ । उनले के गर्लान् नगर्लान, तर चितवनको इज्जत र प्रतिष्ठाका लागि पनि प्रचण्ड जस्तो अर्को नेता छैन ।” 

नेकपा एमाले र कांग्रेसभित्र प्रचण्डको उम्मेदवारीले ठूलो संकट समेत निम्त्याएको नेकपा एमालेका एकजना जिल्ला कमिटि सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए । प्रचण्डको लोकप्रियता, राष्ट्रिय राजनीतिमा उनले खेलेको भूमिका, उनले गरेका विकास निर्माण र चितवनमा गरेका योगदान जस्ता पक्षहरुले प्रचण्डलाई टक्कर दिने नेता छान्न अप्ठ्यारो परेको उनले बताए । “अब प्रचण्डसँग चुनाव लडनु चानुचुने कुरा होइन ।” उनले भने, “हाम्रै कार्यकर्ता र समर्थक पनि चितवनको विकास गर्ने हो भने प्रचण्डलाई जित्न दिनुपर्छ भन्ने मानसिकता बोक्न थालिसके । जिल्ला पार्टीलाई गारो परेको छ ।” एमालेका जिल्ला नेताले भने– पार्टीले के गर्ने, बजेट ल्याउन सक्ने र जिल्लाको विकास गर्न सक्ने नेता चाहियो । जिल्लाबाट प्रचण्ड उठ्छन भने पार्टी हेरिन्न, व्यक्ति हेरिन्छ

प्रचण्ड माओवादी भएपनि जिल्लावासीका लागि प्रचण्ड चितवनबाट उम्मेदवारी दिनु गर्वको विषय बताउने पनि कतिपय भेटिन्छन् । व्यापारी सुदीप नेपालले भने, “भोलीका दिनमा कुन जिल्लाको भन्दा प्रचण्डको जिल्ला भनेर चिनाउँदा त्यसको बेग्लै अर्थ हुन्छ । उनले के गर्लान् नगर्लान, तर चितवनको इज्जत र प्रतिष्ठाका लागि पनि प्रचण्ड जस्तो अर्को नेता छैन ।” चितवले प्रचण्डलाई माया गरेर अरु क्षेत्रमा जानै नदिने अवस्था सिर्जना गर्नुपर्ने उनको तर्क थियो ।

नेपाली कांग्रेसभित्र भने प्रचण्डले निर्वाचन उठेमा उक्त क्षेत्रमा उम्मेदवारी नै नउठाएर सहयोग गर्ने कि भन्ने बहस समेत शुरु भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई समर्थन गरेजस्तै अन्य क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरुलाई माओवादी केन्द्रले समर्थन गर्ने तालमेल अनुसार, चितवनमा प्रचण्डका लागि ठाउँ छोड्ने छलफल कांग्रेसभित्र चलेको छ । एकातिर प्रचण्डलाई टक्कर दिने नेता नहुनु, अर्कोतर्फ जिल्लाका लागि मात्रै सोच्दा प्रचण्ड जति आफ्ना उम्मेदवारले गर्न नसक्ने अवस्थामा उनलाई समर्थन गर्नु नै सही विकल्प भएको कतिपय नेताहरुको धारणा रहेको देखिन्छ ।

प्रचण्डको गृहनगर समेत रहेको चितवनमा माओवादीको आफ्नो बलियो प्रभाव भने नभएको होइन । प्रचण्ड प्रधानमन्त्री भएपछि चितवनको समग्र विकासका लागि प्रचण्डले खेलेको भूमिकाले पार्टी संगठनमा नसमेटिएका जनता समेत उनीप्रति सदभाव राख्ने गरेका छन् । कतिपय क्षेत्रमा स्थानीय तहमा पार्टीले जितेको कारण समेत प्रचण्डलाई जित्न निकै सहज रहेको देखिन्छ ।

नेपाली कांग्रेस र एमालेभित्र पैदा भएको नयाँ बहसले चितवनमा प्रचण्डको जीत झन सहज भएको व्यापारी प्रदीप तामाङ बताउँछन् ।

कमेन्ट गर्नुहोस्