Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीमा स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी कदम हुन्छ: प्रचण्ड

भरतपुर, असोज १० । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रका लागि क्रान्तिकारी कदम हुने बताएको छ ।

मंगलबार अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भने– ‘नेपालीहरुको आर्थिक हैसियतले ठूला रोगको उपचार आफै गर्नसक्ने अवस्था छैन । राज्यले सबैलाई पैसा बाँडेर पनि तत्काल समाधान देखिँदैन, यसको एक मात्रै बिकल्प नागरिकहरुलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नु हो । मेरो नेतृत्वको सरकारले स्वास्थ्य बीमाका लागि एेनको प्रस्ताव तयार पारेर संसदका पेश गरेको छ । विश्वास छ, मेरो नेतृत्वको सरकारले गरेका कामहरुलाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिनेछ।’

‘नेपाल चीन र भारतको बीचमा हुनु अभिसाप होइन, दुई देशको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्छ, अध्यक्ष प्रचण्डले कार्यक्रममा भने– ‘मैले बिमस्टेक सम्मेलनमा भरतपुरको क्यान्सर अस्पताल र समग्र नेपालको विकासबारे चिनियाँ नेताहरुसँग कुराकानी गरें, थुप्रै आयोजनाहरु अगाडि बढ्दैछन्, हामीले बुद्धि पुर्यायौं भने भारत र चीनको बीचमा हुनु हाम्रा लागि बरदान हुन सक्छ ।’

राजनीतिक स्थिरताले मात्रै आर्थिक विकास सम्भव हुने प्रचण्डले बताए । उनले भने– ‘राजनीति मुल हो, समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन आउन राजनीति सङ्लो हुनुपर्छ । हामीमा ईच्छाशक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ, ७.५५ आर्थिक वृद्धि १० महिनाको छोटो अवधिमै हामीले गरेर देखायौं, हामीमा ईमान्दारिता र ईच्छाशक्ति भयो भने १४–१५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ, त्यसकै आधारमा हामी समाजवादमा पुग्न सक्छौं ।’
‘चितवन जिल्ला स्वास्थ्यको हब बन्न सक्छ, हाम्रो भौगोलिक अवस्थितिले पनि त्यो सम्भावना छ, प्रचण्डले भने– ‘त्यसका लागि भरतपुर अस्पताल र क्यान्सर अस्पतालको स्तर वृद्धि गर्न आवश्यक छ, यसमा मेरो पुरै साथ र सहयोग रहन्छ ।’

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल लगायतका वक्ताहरुले भरतपुर क्यान्सर अस्पताललाई दक्षिण एसियाकै अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: