Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल आफैले सगरमाथाको ऊँचाई मापन गर्ने

बुद्दीनारायण श्रेस्ठ

नेपाल सरकार नापी विभागलाई उद्धृत गर्दै देश–विदेशका सञ्चार माध्यममा प्रशारित समाचार अनुसार सर्वोच्च हिमचुचुरो सगरमाथा मापन नेपाल आफैले अर्काे शरद ऋतुमा गर्ने भएको छ । राष्ट्रिय गर्वका निम्ति यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । आफ्नो देशमा रहेको विश्व सम्पदाको मापन मूल्यांकन हामी आफैले गर्नुपर्छ । यसको वास्तविक उचाइ विश्वलाई मान्य हुनेगरी हामी आफैले तोक्नुपर्छ । यो कुरा नेपालको उत्तरदायित्व पनि हो ।

आफ्नो देशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ लेखाजोखा गर्ने काम शताव्दीऔंसम्म आफैले गरेको थिएन । अहिलेको अवस्थामा आएर मात्रै नेपाल आफैले मापन गर्नुपरेको कारणमध्ये पहिलो, २५ अप्रिल २०१५ को भूकम्पले कतै सगरमाथाको उचाइ घटाइदिएको पो छ कि भन्ने विश्वका अनुसन्धानकर्ताको जिज्ञासा मेट्नु हो । भूकम्प अघि आरोहणका लागि तयार भएर बेस क्याम्पमा बसेका आरोहीमध्ये १८ जना भूकम्पका कारण सिर्जित ठूलो हिमपहिरोमा परी मर्न पुगेका थिए । हालै सफल आरोहण गरेका पर्वतारोही भन्छन्– चुचुरोमुनि रहेको हिलारी स्टेप नजिकको भिरालो हिमचट्टान भत्केको छ । अरू केही आरोहीचाहिँ जस्ताको तस्तै छ भन्छन् ।

दोस्रो, विश्वका कतिपय देशले सगरमाथाको उचाइ बढेको छ भन्ने गरेका छन् भने अन्य केहीले घटेको छ भन्छन् । यसको वर्तमान वास्तविक उचाइ विश्व समुदायलाई जानकारी गराउनु सगरमाथाको स्वामित्व बोकेकै देशको दायित्व भएकोले पनि नेपालकै सक्रियतामा मापन गर्नुपरेको ठानिन्छ ।

मापन कार्य जोखिम र चुनौतीपूर्ण

सगरमाथाको उचाइ मापन गर्ने काम सगरमाथा आरोहण गर्नु जत्तिकै जोखिमपूर्ण छ । आरोहीले चुचुरोमा टेकी फर्किने क्रममा हिमचट्टानमा चिप्लेर हिमखाल्डो ‘खर्पस’मा खसेर ज्यान गुमाउन पनि सक्छन् । यस्तैगरी शिखरको उचाइ मापन गरिसकेपछि विश्व समुदायले यस तथ्यांकलाई मान्यता दिएनन् भने सफल आरोही बेसक्याम्पतिर फर्कने बेलामा खर्पसमा खसेजस्तै हुनसक्छ ।

अर्कोतर्फ सगरमाथा मापन नेपालका निम्ति यो एउटा मौका पनि हो भन्ने मान्नुपर्छ । चुनौती यस मानेमा छ कि नेपालले अपनाएको पारम्पारिक उचाइ ८८४८ मिटरमा अमेरिकाले २ मिटर बढेको छ भन्छ भने चीनले ३.५७ मिटर घटेको मान्दैछ । इटालीले कहिले घटेको छ भन्छ भने कहिलेचाहिँ बढेको छ भन्ने गरेको पाइन्छ । यस्तो विविध उचाइको जवाफका निम्ति विश्वलाई चित्तबुझ्दो विधि र प्रविधिद्वारा वैज्ञानिक तरिकाले मापन गरी चुनौतीका सामना गर्नुपर्छ । हिउँको भाग कटाएर चट्टानी टुप्पोको उचाइ संगणना गरेर कायम गरिनुपर्छ । मौकाचाहिँ यस सन्दर्भमा हो कि नेपालको सम्पदाका रूपमा रहेको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइको तथ्यांक यही हो भनी विधिवत घोषणा गरी नेपालको प्रतिष्ठा कायम गर्नु हो । वस्तुगत सम्पत्तिको स्वामित्व रहेको देशले मूल्यांकन गरेको कुरा विश्व समुदायले मान्नुपर्ने प्रचलन छ ।

सगरमाथा मापनको जोखिम र चुनौतीपूर्ण कार्यको सामना गर्न र मौकाको फाइदा उठाउन ‘सगरमाथा मापन व्यवस्थापन उच्चस्तरीय समन्वय समिति’ गठन गरिनु सान्दर्भिक हुन्छ । त्यस समिति अन्तर्गत प्राविधिक उपसमिति तथा टोलीहरूले कार्य गर्ने संयन्त्र निर्माण गर्नु समसामयिक हुन्छ । उपसमितिमा विषयविज्ञ रहनुपर्छ । कार्यालयगत प्रतिनिधिका रूपमा होइन, तर विज्ञताको हैसियतमा सर्भेयर, डिजिटल एस्ट्रोनमर, जियोफिजिसिस्ट, हाइड्रोलजिस्ट, जियोम्याटिस्ट, डाटा प्रोसेसर, जियोसाइन्टिस्ट आदि संलग्न रहनुपर्छ । टोलीमा यन्त्र उपकरण चालक, जीपीएस अपरेटर सगरमाथा विजेता भइसकेका तथा अनुभवी शेर्पा गाइड समावेश भएको हुनुपर्छ । नापी विभागमा सगरमाथाको चुली टेकिसकेका नापी अधिकृत खिमलाल गौतमजस्ता सर्भेयर पनि छन् । मापनपछि प्राप्त कोरा तथ्यांकलाई प्रशोधन गर्ने विज्ञ पनि आवश्यक पर्छ । मापनलाई परिशुद्ध गर्न भर्टिकल अफ डिफ्लेक्सन, जिओआइड, ग्राभिटेसनल एनिमोली, टेक्टोनिक मोसन, एटमस्फिएरिक करेक्सन जस्ता प्रविधियुक्त क्यालकुलेसन (जोड–घटाउ) आवश्यक पर्छ ।

भारत र चीनको सहभागिता

महत्त्वपूर्ण कुरा के छ भने उच्चस्तरीय समन्वय समिति तथा उपसमितिमा भारत र चीनको सहभागिता गराउनु सान्दर्भिक हुन्छ । किनकि तत्कालीन ‘पिक फिप्टिन’ विश्वको सबैभन्दा अग्लो हिमचुली हो भनी भारतले सन् १८५२ मा पत्ता लगाएको थियो । सन् १८६५ मा यसलाई ‘माउन्ट एभरेस्ट’ भनी भारतले नै नामकरण गर्‍यो । सन् १९५४ मा एभरेष्टको पुन: मापन लिइएको थियो र यसको उचाइ ८८४८ मिटर हो भनी किटान गरिएको थियो । यसपछि इतिहास शिरोमणि बाबुराम आचार्यको अनुसन्धानद्वारा यसलाई नेपालमा ‘सगरमाथा’बाट चिनाइयो । तिब्बती भाषाको आधारमा यसलाई चीनमा ‘झोमोलोङ्मा’ भनिन्छ ।

भारतको हैदरावादस्थित सर्भे अफ इन्डिया स्थापना भएको २ सय ५० वर्ष पुगेको उपलक्ष्यमा भारतको विदेश मन्त्रालयबाट सबै प्रकारको स्वीकृति लिई सगरमाथाको उचाइ पुन: मापन गर्ने घोषणा भारतले २४ जनवरी २०१७ मा गरेको थियो । जियोस्पासल विश्व मञ्चसँग पनि यसबारे कुराकानी भइसकेको र नेपालको स्वीकृतिका लागि पत्राचार गरिएको बताइएको थियो । तर नेपालको सहमति प्राप्त भइनसकेका कारण मापन कार्य अघि नबढेको बुझिन्छ । भारत तयारीमा रहेको परिप्रेक्ष्यमा नेपालले भारतलाई सहभागी तुल्याउन सुगम सन्दर्भ हुनसक्छ ।

नेपालले चीनलाई संलग्न गराउनुपर्ने ठोस कारणमध्ये एक हो, सगरमाथा नेपाल र चीनको सीमामा अवस्थित छ । चीनले झोमोलोङ्मा (सगरमाथा) सर्वप्रथम सन् १९७५ मा र त्यसपछि २००५ मा पुन: मापन गरेको थियो । पहिलो मापनमा ८८४८.१३ मिटर उचाइ निर्धारण गरिएको थियो भने दोस्रो मापनको क्रममा ८८४८.४३ मिटर भनिएको थियो । अर्काे कुरा सगरमाथा मापन बहुआयामिक कार्य मानिन्छ । यसैले चीन र भारत दुवै छिमेकी मुलुक भएको नाताले पनि नेपालले मापन गर्दा ती दुवै मुलुकलाई सहभागी गराउनु सान्दर्भिक र समयसापेक्ष हुनसक्छ । यसबाट निक्लने परिणाम विश्वसनीय हुन आउँछ । यस बाहेक उच्चस्तरीय समन्वय समितिले गर्ने कामको तथ्यता, सत्यता बढाउन अमेरिकाको नेसनल जियोग्राफिक/बोस्टन म्युजियम अफ साइन्स, युएन कार्टोग्राफिक डिभिजन, इन्टरनेसनल एसोसियसन अफ जियोडेसी, इन्टरनेसनल फेडरेसन अफ क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ, युनाभकोलाई समितिको आमन्त्रित सदस्यको हैसियतमा संलग्न गराउँदा परिणाम घोषणाको ओजन बढ्न जान्छ । नेसनल जियोग्राफिकले सगरमाथाको बृहत मापन गरी सन् १९९९ सम्ममा दुई मिटर बढेको घोषणा गरेको थियो । यो मापनका समय यस पंक्तिकारले नेपालको टोली संयोजकको काम गरेको थियो । यस टोलीले थ्याङ्बोचेदेखि दक्षिणतर्फको अप्पर तथा लोअर राउजेसम्मका दसौं स्टेसन विन्दुमा जीपीएस सर्भेक्षण गरेको थियो । सर्भेक्षणको ‘क्रुड डाटा’ अमेरिका पठाई बोस्टन म्युजियम अफ साइन्स र युनिभर्सिटी अफ कोलोराडो, बोल्डरमा डाटा प्रोसेसिङ गरिएको थियो ।

मापन प्रक्रिया

सगरमाथाको उचाइ मापनमा निश्चय नै आधुनिक भू–उपग्रहीय प्रविधि ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) पद्धति अपनाउनु अपरिहार्य छ । तर पारम्पारिक विधि ‘ट्रान्सलेसन मेथड’लाई पनि छाड्नु हँुदैन । जसमा कि दुइटा विधिबाट निस्केको तथ्यांकलाई दाँजेर परिशुद्ध उचाइ संगणना गर्न सकियोस् । भू–उपग्रहीय प्रविधि अनुरूप सगरमाथाको टुप्पोमा अनि साउथ कोल, आधार शिविर (नेपाल तथा चीन दुर्वतर्फको) लोबुचे, थाङ्बोचे, नाम्चे, लुक्ला, राउजे, नगरकोट आदि विन्दुमा जीपीएस उपकरण राखी एकै समय अवलोकन गरी तथ्यांक रेकर्ड गर्न सकिए परिशुद्ध उचाइ संगणना गर्न मद्दत पुग्ने हुन्छ ।

उचाइ मापनका सम्बन्धमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले वैज्ञानिक यन्त्र उपकरणको अभाव रहेको कुरा सञ्चार माध्यमलाई बताएका छन् । यस क्रममा स्तरीय जीपीएस रिसिभर, अबसोलुट ग्राभिमिटर, लेभलिङ उपकरण, शक्तिशाली कम्प्युटर, स्तरीय सफ्टवेयर आदि सामग्री चाहिने भएकोले उच्चस्तरीय समन्वय समिति तथा उपसमितिमा चीन, भारत, अमेरिका तथा सम्बन्धित अन्तर्राष्ट्रिय संस्थालाई संलग्न गरिए यस्ता यन्त्र उपकरण सुलभताका साथ उपलव्ध हुन जान्छ ।

परिशुद्ध तथ्यांक प्राप्त गर्नलाई चाहिने बजेट रकममा कञ्जुस्याइँ गर्नुहुन्न । यो वैज्ञानिक कार्य हो । अलिकति किफायती तरिका अपनाउँदा विश्वसनीय तथ्यांक उपलव्ध नहुन पनि सक्छ । नापी विभागले सन् २०१२ देखि नै सगरमाथा मापन योजना बनाएको थियो । अर्थ मन्त्रालयले यस आयोजनालाई अनुत्पादक भन्दै आएको थियो । तर सन् २०१५ मा नेपालमा भूकम्प गएपछि विश्वका केही अनुसन्धान संस्थाहरूले सगरमाथाको उचाइ घटेको हुनसक्छ भनेपछि बल्ल बजेटको प्रबन्ध भएको छ । अब सगरमाथा मापनको योजना कार्यान्वयनमा आउन लागेको छ । राष्ट्रिय महत्त्वको र नेपालको इज्जत जोडिएको यस योजनाका लागि अनुमानित खर्च २१ करोड रुपैयाँ लाग्ने बुझिन्छ, तापनि प्रारम्भिक कार्यका लागि यस वर्ष २ करोड छुट्याइएको छ । आगामी वर्ष बाँकी बजेट निकासा हुने अपेक्षा गरिन्छ ।

मापन नतिजाको घोषणा

सगरमाथा नेपालको भूमिमा छ । यसको मापनका लागि नेपाली विज्ञ प्राविधिज्ञहरू सक्षम छन् । तथापि उच्चस्तरीय समन्वय समितिको पहलमा नेपालको संयोजकत्वमा भारत र चीनका विज्ञहरूलाई पनि संलग्न गराई एकीकृत टोलीबाट उचाइ निर्धारण गरिए विश्वले मान्यता दिनेछ । मापनको परिणाम विभिन्न देशका विज्ञ आमन्त्रित सदस्य रहेको नेपाल सरकारको उच्चस्तरीय समन्वय समितिबाटै आधिकारिक र औपचारिक घोषणा गरिए सगरमाथाको उचाइ घटयो कि बढयो भन्ने विश्वको शंका सदाका लागि निवारण हुनेछ ।

कांतिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: