९ रूपैयाँको नून ८० रूपैयाँमा, त्यो पनि पाईदैंन किन्न

दार्चुला अपी हिमाल गाउँपालिकामा आयोडिन नुनको डिपो नहुँदा आठ गुणाभन्दा बढी महंगो मूल्य तिरेर यहाँका स्थानीय नुन खान बाध्य छन् ।

यहाँ आयोडिन नुन र अन्य ब्रान्डका प्याकिङ नुन धेरै महंगो पर्ने स्थानीयको भनाई छ । आश्विन १२, २०७४ दार्चुलाको अपी हिमाल गाउँपालिकाका स्थानीय ९ रुपैयाँमा पाईने आयोडिन नुन ८० रुपैयामा खरिद गर्न बाध्य छन् ।

सदरमुकामबाट २८ कोष उत्तरमा पर्ने अपी हिमाल गाउपालिकाका घुसा र खण्डेश्वरीका उपभोक्ताहरु ९ रुपैयाँमा देशभरका उपभोक्ताले खरिद गर्ने आयोडिन नुन यहाँका स्थानीय भने ६० देखि ८० रुपैयाँ तिरेर खरिद गर्न बाध्य छन् । अपी हिमाल गाउँपालिकामा आयोडिन नुनको डिपो नहुँदा आठ गुणाभन्दा बढी महंगो मूल्य तिरेर यहाँका स्थानीय नुन खान बाध्य छन् । यहाँ आयोडिन नुन र अन्य ब्रान्डका प्याकिङ नुन धेरै महंगो पर्ने स्थानीयको भनाई छ । सस्तोमा ढिके नुन मात्र पाईन्छ । स्थानीय कल्यान सिंह बोहराले भने ‘हुने खाने त त्यही महंगो नुन खान्छन् । नहुने सस्तोमा पाईने ढिके नुन खान बाध्य छांै ।’

दुर्गम क्षेत्र भएकाले ढुवानी भाडा धेरै लाग्छ । ढुवानी भाडा र व्यापारीको लगानी जोड्दा धेरै हुन आउछ । यहाँ आयोडिन नुन पुग्न ५० रुपैयाँ लागत लाग्ने व्यापारी बताउँछन् ।

खण्डेश्वरी बजारमा प्रति किलोग्राम आयोडिन नुनको मूल्य ५० परे पनि ग्रामिण भेगमा भने ६० रुपैयाँ भन्दा बढीमा किनेर खान छन् । यो क्षेत्रमा दैनिक उपभोग्य सामग्री लगायत अन्य सामानहरुको मूल्य समेत धेरै रहेको बोहराको भनाई छ । राज्यले यहाँका नागरिकलाई सुपथ मूल्यमा नुन खुवाउन पहल गनुपर्ने दायित्व भएको हुनाले यथाशीघ्र नुनको डिपो राख्नुपर्ने उनको माग रहेको छ ।

जिल्लाका निम्न आयस्तर भएका अधिकांश घरधुरीको भान्छामा गुणस्तरहिन ढिके नुन प्रयोगमा आउने गरेको छ । आयोडिन नुन खरिद गर्न नसकेर ढिके खानुपर्ने स्थानीयको बाध्यता रहेको अपी हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

जिल्लाको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले अब छिट्टै ५ सय क्विन्टल आयोडिन नुन ढुवानी गरिरहेको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट गाउँपालिकाले ढुवानी गरेर प्रति किलोग्राम २५ रुपैयाँमा उपभोक्ताको भान्छामा पुर्‍याउने गरी ढुवानीको प्रबन्ध मिलाईरहेको उहाँले जानकारी दिनुभयो ।

अपी हिमाल गाउँपालिकामा सदरमुकामबाट तीन दिन र गोकुलेश्वरबाट दुई लाग्ने हुँदा जिल्लाका ढुवानीको समस्या हुने गरेको छ । अपी यसै हिमाल दुर्गम, त्यसमा पनि छरिएर बसेको बस्ती । पुर्वाधार विकासमा यो गाउँपालिका धेरै पछाडी रहेको हुनाले समस्याले ग्रसित छ, गाउँपालिका प्रमुख मन्यालले भन्नसभयो, प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनि सडक मार्गले धेरै पछाडि रहेको हुनाले विभिन्न किसिमका समस्या व्याप्त छन् । यहाँ पुग्न मोटर मार्ग नभएको हुनाले पैदल बाटो हिँडेर जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

कांतिपुर दैनिकमा मनोज बडूको समाचार

कमेन्ट गर्नुहोस्