Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिकी स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

काठमाडौं । सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ।

ट्रम्पले प्राइसबाट आफू ‘निराश बनेको’ प्रतिक्रिया दिएका छन्। बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा दिएको सन्देश र उनका मन्त्रीबाट निजी विमानहरुको प्रयोगबीच तालमेल देखिंदैन।

विकल्प

विद्यमान नीतिहरुमा जोड दिंदै ह्वाइट हाउसका बजेट प्रमुखले उच्च अधिकारीहरुलाई समेत सरकारी कामको सिलसिलामा व्यापारिक विमानहरुबाट यात्रा गर्ने विकल्प एकदम थोरै भएको सन्देशसहित कर्मचारीहरुलाई पत्र पठाएका छन्।

कामको सिलसिलामा महंगो यात्रा गरेको भन्दै ट्रम्पको मन्त्रिपरिषद्का अरु तीनजना सदस्य पनि निगरानीमा छन्।

गत मे महिनायता २६ वटा निजी उडान गरेर राज्यकोषको ४ चार लाख डलर खर्च गरेकोमा प्राइसले क्षमायाचना गरेका थिए।

पछुतो
न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार प्राइसले पठाएको राजीनामापत्रमा उनले ‘पछिल्ला गतिविधिले मन्त्रालयको कामबाट ध्यान अन्यत्र मोडेकोमा’ आफूलाई पछुतो लागेको बताएका छन्।

राजनीतिक समाचारहरु छाप्ने ‘पोलिटिको’ वेबसाइटका अनुसार प्राइसले यात्रामा मात्रै १० लाख डलरभन्दा बढी सरकारी रकम खर्च गरेका छन्, जसमध्ये सेनाको साथै निजी विमानबाट गरेको यात्रामा ४ लाखभन्दा बढी डलर खर्च भएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले सरकारी कामको सिलसिलामा प्राइसबाट यात्राका लागि गरिएका खर्चबाट आफू ‘खुशी नभएको’ बताएका थिए।

स्वास्थ्यमन्त्रीले राजीनामा दिनुअघि ट्रम्पले उनी एकदमै असल मान्छे भएको पत्रकारहरुलाई बताएका थिए।

bbcnepali बाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: