’ढुक्क भएर उम्मेदवारी दिनुस्’: प्रमुख आयुक्त यादव

काठमाडौं, कात्तिक २ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तोकिएकै समयमा हुने विश्वास दिलाउँदै दलहरूलाई ढुक्क भएर उम्मेदवारी दिन आह्वान गरेका छन्। मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ९१ दललाई उम्मेदवारी दिन उनले आह्वान गरेका हुन् ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ क्षेत्र र प्रदेशसभातर्फ ७४ क्षेत्रमा निर्वाचन हुँदै छ। त्यसका लागि कात्तिक ५ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम छ। समानुपातिकतर्फ भने ४९ वटा दलले असोज २९ गते नै उम्मेदवारको बन्दसूची पेस गरिसकेका छन्।

प्रमुख आयुक्त यादवले पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रममा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सहभागी हुन सबै दल तथा स्वतन्त्र उम्मेदवारलाई आह्वान गरेका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फरक–फरक मतपत्र हुनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नहुने निर्णय दिएपछि निर्वाचन आयोगलाई कार्यतालिकाअनुरूप काम अघि बढाउन थप सहज भएको छ।

याे पनि पढ्नुस  अयोधिप्रसाद यादवले खोजे सम्मानजनक व्यवस्थापन

सर्वाेच्चको निर्णयले आयोगको कामलाई सहज पारेको यादवले बताए। उनले भने, ’अब निर्वाचन हुँदैन कि भन्ने शंका टरेको छ।’ निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आवश्यक पर्ने सबै सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता सरकारले व्यक्त गरिसकेको उनले जानकारी दिए।

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई पनि प्रमुख आयुक्त यादवले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पारेका छन्। आयोगले बुधबार गरेको अन्तक्र्रियामा यादवले कूटनीतिक नियोगका प्रतिनिधिलाई निर्वाचन तयारी अन्तिम चरणमा पुगिसकेको र तोकिएकै मितिमा निर्वाचन गर्न प्रतिबद्ध रहेको जानकारी दिएका हुन्।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेमा आश्वस्त रहेको उनले बताए।कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले निर्वाचन तयारी, आचारसंहिता कार्यान्वयन, विदेशी पर्यवेक्षक र बदर मतपत्रको संख्या घटाउने विषयमा आयोगले चालेका पछिल्ला कदमबारे जिज्ञासा राखेका थिए।

कार्यक्रममा जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, डेनमार्क, श्रीलंका र बंगलादेशका राजदूत, इयुलगायत काठमाडौंस्थित विभिन्न देशका दूतावासका प्रतिनिधि उपस्थित थिए।पहिलो चरणमा ३२ जिल्लाका ३२ लाख २८ हजार ८७९ मतदाता सहभागी हुने आयोगले जनाएको छ।

याे पनि पढ्नुस  निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पुगिसकेको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउन २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगले जानकारी दिएको छ।

मतदाता शिक्षाका क्रममा आयोगले पर्याप्त मात्रामा नमुना मतदान गराउने भएको छ। पहिलो निर्वाचनका लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गरेको छ। पहिलो चरणको निर्वाचनका लागि जिल्ला सदरमुकाममा गत असोज २९ देखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन्।

धमाधम मतपत्र छपाइ
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्र छपाइ सुरु भएको जनाएको छ। असोज १७ देखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको हो।

समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म ९० लाख मतपत्र छपाइ भइसकेको छ। कात्तिक ७ सम्म समानुपातिकतर्फको सम्पूर्ण मतपत्र छापिसक्ने आयोग प्रवक्ता नवराज ढकालले बताए।

याे पनि पढ्नुस  राष्ट्रियसभाको निर्वाचन ‘माघ २५ गते’

उनका अनुसार कात्तिक ८ बाट प्रत्यक्षतर्फको निर्वाचनका लागि एक करोड ७४ लाख मतपत्रको छपाइ सुरु हुनेछ। उम्मेदवारी कति दलले दिन्छन्, त्यसअनुसार मतपत्रको प्रकार निर्धारण गरिनेछ ।

समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्र एउटै पानामा राखिएको छ।
माथिल्लो भागमा ’मतपत्र १’ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र तल्लो भागमा ’मतपत्र २’ प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने व्यवस्था गरिएको छ। समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिएको छ भने प्रत्यक्षतर्फका लागि सेतो कागजमा हल्का हरियो रङको मसीले छापिने भएको छ ।

चार विदेशी पर्यवेक्षक
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका लागि आयोगले अन्तर्रा्ष्ट्रिय संघ, संस्था र व्यक्तिलाई आवेदन दिन सूचना जारी गरे पनि जम्मा चारवटा अन्तर्रा्ष्ट्रिय संस्था मात्रै सहभागी हुने भएका छन् । कार्टर सेन्टर, इयु र एसियन नेटवर्क फ्री इलेक्सन फाउन्डेसनले आयोगबाट स्वीकृति प्राप्त गरिसकेका छन् । निवेदन दिएको जाइकाले भने स्वीकृति पाइसकेको छैन । – अन्नपूर्ण दैनिकबाट

कमेन्ट गर्नुहोस्