तनावकाबीच केन्यामा निर्वाचन सम्पन्न

काठमाडौं, कात्तिक ९ । केन्यामा राष्ट्रपतिको दोहोर्‍याएर भएको निर्वाचनको मतदानका क्रममा बिहीबार प्रहरी र विपक्षीबीच झडपहरु हुँदा कम्तीमा एकजना प्रदर्शनकारीको गोली लागी मृत्यु भएको छ ।

देशको पश्चिममा रहेको किशुमु नगरमा भएको विरोधप्रदर्शनलाई रोक्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा ती प्रदर्शनकारीको मृत्यु भएको जनाइएको छ। दोहोर्‍याएर भएको निर्वाचनमा अघिल्लो पटकको तुलनामा कम मतदाताहरुले मत खसालेको देखिएको छ।

बहिष्कार
आठ जना उम्मेद्वारहरु मात्र रहेको निर्वाचनबाट वर्तमान राष्ट्रपति उहुरु केन्याटा दोस्रो पटक चुनिने पक्का देखिएको छ।

बिहीबार बिहान स्थानीय समयअनुसार ६ बजे मतदान शुरु भएको थियो र मतदाता र मतदानकेन्द्रहरुको सुरक्षा गर्न हजारौँ संख्यामा प्रहरी र सुरक्षा निकायका अन्य कर्मचारीहरु खटिएका छन्।

विपक्षी प्रदर्शनकारीहरुले दोहोर्‍याएर हुन लागेको विवादास्पद निर्वाचन विथोल्न खोजिरहेका थिए।

 

निर्वाचन बहिष्कार गरेका प्रमुख विपक्षी नेता राइला ओडिंगाको गृहनगर किशुमुमा खटाइएका ४ सय मतदान अधिकारीहरुमध्ये चुनावी प्रक्रियामा सहभागी हुँदा डरधम्कीको सामना गर्नुपर्ने हुनसक्ने त्रासका कारण मात्र दुई जना उपस्थित भएको बताइएको छ।

ओडिंगाले कुनै सुधार नभएकाले चुनाव बहिष्कार गर्नुपर्ने बताएका छन्। ओडिंगाले निर्वाचनलाई धोकापूर्ण हुने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्वाचन बहिष्कार गर्न आह्वान गरेका थिए।

झडप
किशुमुमा विपक्षी प्रदर्शनकारीहरुमध्ये केहीले मतदानकेन्द्र जाने बाटो रोकेपछि झडपहरु भएका थिए। राजधानी नाईरोबीमा पनि झडपहरु भएको तर देशका अधिकांश भाग भने शान्त नै रहेको बताइएको छ।

केन्याको सर्वोच्च अदालतले गत अगस्टमा भएको राष्ट्रपतीय निर्वाचनमा अनियमितताहरु भएको बताउँदै मतपरिणाम रद्द गरेको थियो। वर्तमान राष्ट्रपति केन्याटाले गाटुन्डु नगरमा मतदान गरेपछि नागरिकहरुलाई देशलाई अघि बढाउन लागि मतदानमा सहभागी हुन आह्वान गरेका थिए।

अघिल्लो पटकको निर्वाचनको तुलनामा मतदाताको संख्यामा कम रहेको देखिन्छ। साथै चुनावको विश्वसनीयताबारे पनि आशंकाहरु उत्तिकै रहेका छन्।अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले सुरक्षाको कारण देखाउँदै आफ्नो चुनावी पर्यवेक्षण कार्यलाई सीमित पारेका छन्।बिबिसी

कमेन्ट गर्नुहोस्