टोपबहादुर रायमाझीलाई सचिवालय सदस्य खड्काको चुनौती

अर्घाखाँची, कात्तिक १४ । अर्घाखाँची जिल्लामा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीविरुद्ध पार्टीका सचिवालय सदस्यले उम्मेदवारी दिने भएका छन ।

माओवादी क्न्द्रका सचिवालय सदस्य चन्द्रबहादुर खड्का ‘उज्वल’ले अर्घाखाँचीबाट रायमाझी विरुद्ध प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन ।

वाम गठबन्धनको भागबण्डाअनुसार अर्घाखाँचीमा प्रतिनिधिसभा माओवादी र प्रदेशसभाका दुवै क्षेत्र एमालेको भागमा परेको छ। खड्काले रायमाझीले आफूमाथि अन्याय गर्दै आएकाले उम्मेदवारी दिन लागेको बताए। उनले सामाजिक सञ्जाल फेसबुकमै आफूले उम्मेदवारी दिन लागेको लेखेका छन्।

याे पनि पढ्नुस  माओवादी नेता टोपबहादुरलाई पितृशोक

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यही कात्तिक १६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ। आफूलाई उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थक चाहिएको भन्दै फेसबुकमा स्टाटस लेखेका उनलाई धेरैले साथ दिने वचन कमेन्टमा लेखेका छन ।

झण्डै १० वर्ष जिल्लामा पार्टीको नेतृत्व सम्हालेका खड्का केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुँदै हाल केन्द्रीय कार्यालय सदस्य छन्। उनी २०४४ सालमा शिक्षक र भेटेनरी प्रविधिकको स्थायी जागिर छाडेर राजनीतिमा लागेका थिए।

याे पनि पढ्नुस  जीप दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

उनी २०५१ सालमा साविकको वागी गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए। माओवादी जिल्ला कमिटी अर्घाखाँचीले प्रदेशसभा क्षेत्र नम्बर १ बाट खड्काको नाम निर्विरोध सिफारिस गरेको थियो।

तर, प्रदेशका दुवै क्षेत्र एमालेको भागमा परेपछि खड्का असन्तुष्ट बनेका हुन्। रायमाझीले पार्टी संगठन नै ध्वस्त पार्ने गरी प्रदेशका दुवै क्षेत्र एमालेलाई दिने सहमति गरेको उनको आरोप छ।

याे पनि पढ्नुस  माओवादीका नेता रायमाझीद्वारा अर्घाखाँचीबाट उम्मेदवारी घोषणा

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि रायमाझी तथा प्रदेशसभा सदस्यका लागि (क) मा एमालेका चेतनारायण आचार्य र (ख) मा एमालेकै रामजीप्रसाद घिमिरे उम्मेदवार छन्। यदि खड्काले स्वतन्त्र उम्मेदवारी दिएको खण्डमा जिल्लामा वाम गठबन्धनका लागि चुनौती थपिने छ।

कमेन्ट गर्नुहोस्