काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसले आगामी चुनाबमा वाम गठबन्धन आफ्नो पार्टीका लागि प्रमुख चुनौती रहेको बताएको छ ।
मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चुनाबी घोषणापत्र सार्वजनिक कार्यक्रममा कांगे्रसका नेताहरुले यस्तो बताएका हुन ।
कांग्रेसले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि घोषणापत्र कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका नेताहरूले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि प्राप्तिका लागि घोषणापत्र कार्यान्वन गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘निर्वाचनमा कम्युनिष्ट गठबन्धन कांग्रेसको चुनौती हो,’ महामन्त्री शशांक कोइरालाले भने, ‘यसको सामना गर्न एकताबद्ध भएर घोषणापत्र लिएर जनतासामु जानुपर्छ।’
देशमा राजनीतिक व्यवस्था सुदृढ गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै उनले घोषणापत्रले मुलुकको आर्थिक समृद्धिको मार्गचित्र कोरेको दाबी गरे।
अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताले सर्वसत्तावाद ल्याउने घोषणा गरेका बेला त्यसको सामना गर्ने बेला आएको बताए। ‘त्यसका लागि दरिलो दस्तावेज हो घोषणापत्र,’ उनले भने, ‘समावेशी लोकतन्त्र कायम गर्ने संकल्प घोषणापत्रले व्यक्त गरेको छ।’