बिजुक्छेलाई छाडेको भन्दै भक्तपुरमा एमालेको चर्काे विरोध

भक्तपुर, कात्तिक १४ । वाम गठबन्धनको विरोध गर्दै आएका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेका विरुद्ध भक्तपुर १ मा कुनै उम्मेदवार नउठाउने गठबन्धनको निर्णयप्रति एमाले भक्तपुरले चर्को विरोध जनाएको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभाको चुनावमा वाम गठबन्धनले भक्तपुरमा उम्मेदवारी नदिई नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका लागि छाड्ने भएपछि एमाले भक्तपुरमा विरोध भएको छ ।

यसअघिका प्रत्येक चुनावमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह चुनावमा एमालेले विजयी हासिल गरेको क्षेत्रमा समेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमाले क्षेत्रीय निर्वाचन कमिटी विरोधमा उत्रिएको छ ।

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधीसभा तर्फ नेमकिपाका अध्यक्ष बिजुक्छेको उच्च मूल्यांकन गर्दै उनीविरुद्ध उम्मेदवारी नउठाउने निर्णय गरेको भन्दै यसलाई तत्काल सच्याएर उम्मेदवार बनाउन एमाले भक्तपुरले माग गरेको छ ।

यस क्षेत्रमा एमाले जिल्ला कमिटीले प्रतिनिधीसभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिस गरेको र एमालेको मजबुद रहेको क्षेत्रमा नेमकिपालाई छाड्ने निर्णय अमान्य भएकाले उम्मेदवारी दिन माग गरेको एक नेताले बताए ।

कमेन्ट गर्नुहोस्