Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसले अाज उम्मेदवारको अन्तिम टुंगो लगाउने

राजपा र संघीय समाजवादीसँग अझै पनि तालमेलको प्रयास
काठमाडौं, कात्तिक १५ ।

राजपा र संघीय समाजवादीसँग अझै पनि तालमेलको प्रयास –

कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको उम्मेदवारको अन्तिम टुंगो बुधबार लगाउने भएको छ । संसदीय समितिका सदस्य डा. प्रकाशशरण महतले मंगलबार मध्यरातिसम्म उम्मेदवारहरूबारे छलफल भए पनि टुंगो लाग्न नसकेको ताए । ‘पहिले टाढाटाढाको उम्मेदवार टुंग्याउँदै छौँ,’ उनले भने, ‘बुधबार सबै उम्मेदवारको टुंगो लाग्छ ।’ आगामी २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार उम्मेदवारी दिने कार्यतालिका छ ।

कांग्रेसले अहिलेसम्म शीर्षसहितका केही क्षेत्रको मात्र उम्मेदवार टुंग्याएको छ । तर, संघीय समाजवादी फोरम र राजपासँग तालमेलको प्रयासले टुंगिन नसकेकाले तराईसहितका धेरै क्षेत्रमा उम्मेदवार टुंगिन बाँकी छ ।

केही ठाउँमा टुंगिए

कांंग्रेसले थप उम्मेदवारको टुंगो लगाएको छ । संसदीय समितिले मंगलबार रातिसम्म स्याङ्जा १ मा राजु थापा, कास्की १ मा यज्ञबहादुर थापा, अछाम १ मा भरत स्वाँर, अछाम २ मा पुष्पबहादुर शाह, दैलेखको एक क्षेत्र कमल थापा नेतृत्वको राप्रपालाई दिएर एउटा क्षेत्र कांग्रेसले लिने गरी सहमति भएको संसदीय समितिका ससदस्य बालकृष्ण खाणले जानकारी दिए ।

तालमेलको प्रयासले सकस

एमाले र माओवादीको चुनावी तालमेलपछि कांग्रेसले पनि मधेसकेन्द्रित दल र राप्रपासँग चुनावी तालमेलको प्रयास गरेको छ । एमाले र माओवादीले प्रस्ट रूपमा संख्या तोेकेरै तालमेल गरे पनि कांग्रेसले सिट संख्या तोकेर तालमेल गर्न सकेको छैन । ‘अब संख्याको आधारमा भन्दा पनि राजपा र संघीय समाजवादीका शीर्ष नेतालाई हामीले केही क्षेत्रमा छाड्ने र हाम्रा नेतालाई उनीहरूले केही क्षेत्रमा छाड्ने गरी तालमेलको प्रयास भएको छ,’ राजपा र फोरमसँगको वार्तामा सहभागी नेता डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘हामी छलफलमै छौँ । कुन रूपबाट एक–अर्कालाई सहयोग गरेर जाने भन्ने बुधबार टुंगो लाग्छ ।’

राजपा नेता केशव झाले कांग्रेससँग प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी तथा कांग्रेसबीच एक–अर्काका नेतालाई छाड्ने, पूर्व–पश्चिम राजमार्गवरिपरि धेरै ठाउँमा मधेसवादी दलले कांग्रेसलाई सहयोग गर्ने र केही ठाउँमा कांग्रेसले राजपा र फोरमका नेतालाई सहयोग गर्ने गरी छलफल भएको छ ।

यसअघि राजपा र समाजवादी फोरमले प्रदेश नम्बर २ का ३२ मध्ये कम्तीमा २० सिट दाबी गर्दै गर्दै कांग्रेसलाई १२ सिट लिन प्रस्ताव राखेपछि सहमति हुन सकेको थिएन । मंगलबार राजपा र फोरमले १८ सिट आफूले लिने र कांग्रेसलाई १४ सिट लिन भने पनि कुरा मिल्न नसकेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: