जनता बैंकको ८५ हजार कित्ता सेयर लिलामी खुला

काठमाडौं, कार्तिक १५ । जनता बैंकको सर्वसाधारण समूहको ८५ हजार १ कित्ता सेयर बुधबार (कात्तिक १५ गते) देखि बिक्री खुला भएको छ ।

बैंकले गुरुप्रसाद न्यौपानबाट जफत गरेको ८५ हजार १ कित्ता सेयर लिलामीमा ल्याएको हो । केही समयअघि बैंक सञ्चालक भएका बेला गैरकानुनी हिसाबले श्रीमतीको नाममा सेयर किनेको ठहर गर्दै उक्त सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार जफत भएको सेयर बैंकले यतिबेला लिलामीमा ल्याएको हो ।

यो शेयरमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्ने छ । हाल बैंकको बजार मूल्य भने प्रतिकित्ता २५३ रुपैयाँ छ । यसमा आवेदन दिने अन्तिम म्याद भने कात्तिक २१ गते तोकिएको छ । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदकले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, काठमाडौं प्लाजा कमलादीमा पुग्नेगरी आवेदन फारम बुझाउनुपर्ने छ ।

बोलपत्र कात्तिक २२ गते बिहान १२ बजे काठमाडौं प्लाजा, कमलादीमा खोलिने छ । यो लिलामीमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संगठित संस्थाले समेत आवेदन दिन पाउने छन् ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको जनताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरी असार ३० देखि एकीकृत कारोबार समेत सुरु गरिसकेको छ ।

यसअघि जनताले त्रिवेणी विकास बैंकलाई पनि मर्ज गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जनतााको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६ पैसा रहेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्