कांग्रेस कम्युनिष्ट र श्रमजीवी जनता विरोधी: वाम गठबन्धन

काठमाडौं, कात्तिक १६ ।  नेकपा माअाेवादी केन्द्र र नेकपा एमाले वाम गठबन्धनले काङ्ग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको भन्दै अालाेचना गरेकाे छ ।  राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना  काङ्ग्रेससंग नरहेकाे रुपमा चित्रित गरेकाे छ ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम तराई–मधेसलाई मुख्य कार्यथलो बनाएका राजनीतिक पार्टीहरू मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी भएकाे उल्लेख गरेकाे वाम गठबन्धनले  राप्रपा राजतन्त्रात्मक व्यवस्थाका समर्थक तथा त्यसलाई पुनस्र्थापना गर्न चाहने पूर्व पञ्चहरुले निर्माण गरेको पार्टीका रुपमा व्याख्या गरेकाे छ ।

वाम गठबन्धन नजरमा 

(क) नेपाली कांग्रेस

नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएको र विगतमा विर्ता उन्मुलन लगायत स्थापना कालमा कतिपय सामाजिक–आर्थिक सुधारका कदम चालेको भए पनि नेपाली कांग्रेसले सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकारसम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने बिषयमा सकारात्मक भूमिका खेल्न सकेको छैन ।

यसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशीक एकाधिकारवादी पूँजीपति वर्गसंग सम्झौता र आत्मसमर्पणको रहँदै आएको छ । मुख्य रुपमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका आज नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् । कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको नेपाली काङ्ग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ ।

यसले कैयन पटक विदेशी हस्तक्षपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयन पटक जनविरोधी काम पनि गरेको छ । यस पार्टीले बहुमत प्राप्त गरेको समयमा नीजिकरणको नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त गरेको छ । नवउदारबादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ । यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसंग छैन ।

राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन लगायतका कमजोरीहरु हटाएन र जनपक्षीय चरित्र विकास गर्न सकेन भने यसले क्रमशः जनसमर्थन गुमाउँदै जानु अनिवार्य छ ।
नेपाली कांग्रेस देश, जनता, आन्दोलन र क्रान्तिका पक्षमा उभिएको बेला नेपालका कम्युनिष्टहरुले त्यससँग सहकार्य गरेका छन् । तर जनविरोधी काम र विदेशी हस्तक्षपका अगाडि आत्मसमर्पण गरेको समयमा भने नेपाली कम्युनिष्टहरुले त्यसको आलोचना र विरोध गरेका छन् । भविष्यमा पनि नेपाली कांग्रेससित नेपालका कम्युनिष्टहरुको सम्बन्ध उसले अवलम्बन गर्ने नीति र व्यवहारमा आधारित रहने छ ।

(ख) तराई– मधेस केन्द्रित पार्टीहरू

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम तराई–मधेसलाई मुख्य कार्यथलो बनाएका राजनीतिक पार्टीहरू हुन् । राजपा मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो । यसले राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्दछ र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक– आर्थिक रुपान्तरणको विरोध गर्दछ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको विरोध गर्दछ । संघीयताको कुरा गरेपनि यो पार्टी स्थानीय तहको स्वशासनको अधिकारको विपक्षममा उभिएको छ ।

संघीय समाजवादी फोरम राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई–मधेश आधारित पार्टी हो । यसले जातीय र क्षेत्रीय मुद्दालाई रणनीतिका रुपमा अगाडि सारेको छ । यसका नीति, काम र व्यवहार सामाजिक सद्भावलाई कमजोर पार्ने किसिमका छन् । यसको विकासक्रमलाई नजिकबाट हेर्दै यसले अवलम्बन गर्ने नीति र कामको आधारमा यसप्रतिको नीति निर्धारण गर्नु पर्दछ ।

ग) राप्रपा

राप्रपा राजतन्त्रात्मक व्यवस्थाका समर्थक तथा त्यसलाई पुनस्र्थापना गर्न चाहने पूर्व पञ्चहरुले निर्माण गरेको पार्टी हो । आज यो विभिन्न समुहमा विभाजित छ । आफ्ना सामन्तवादी चरित्रमा पर्दा लगाउन राप्रपाका विभिन्न समूहहरुले उदारवाद, लोकतन्त्र र राष्ट्रवादको नारा पनि लगाउने गरेका छन् । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो । राप्रपाका विभिन्न समूहले लिने नीति र गर्ने व्यवहारको आधारमा यी समूहहरूलाई हेर्ने र व्यवहार गरिने छ ।

(घ) देशमा केही अन्य साना कम्युनिस्ट समूहहरू पनि छन् । उनीहरूको जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्तिको आलोचना गर्दै एकता, धु्रवीकरण र सहकार्यमा ल्याउने प्रयत्न गर्नुपर्दछ ।

ङ) देशमा विभिन्न नाममा देखापर्ने अतिवादी, दक्षिणपन्थी अवसरवादी चरित्रका समूहहरूका सम्बन्धमा तिनका क्रियाकलापको आधारमा उपयुक्त नीति र व्यवहार निर्धारण गरिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: