तेह्रथुममा असिनाले धानबाली नष्ट, लाखौँको क्षति

तेह्रथुम, कात्तिक १६ । जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ ।

कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन् ।

जिल्लाका जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकामा असिनाले लाखौँ बराबरको क्षति भएको कृषक लोकबहादुर अधिकारीले बताए ।

म्याङलुङ नगरपालिकाको जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका १०० भन्दा बढी कृषकको धानबालीमा क्षति भएको थियो । वर्ष दिनको कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन् । करिब ३०० रोपनीमा रहेको खेतमा पाकेको धानमा क्षति भएको छ ।

खेतमा उब्जाएको अन्नले परिवार धान्दै आएका यामबहादुर कटुवाल भन्छन्, ‘वर्ष दिनको कमाइ असिनाले लग्यो, परिवारलाई धान्न कठिन हुने भयो ।’

कृषकले खेतमा काटेर राखेको धान थन्क्याउन नपाइ असिनाले लगेको छ । खेतमा धान काटेर राखेरको थियो एक्कासि असिना पानी आयो, केहीदिनमा थन्क्याउने तयारीमा थियौँ, क्षणभरमै माटोमा धान मिल्यो, कृषक तेजबहादुर अधिकारीले दुखेसो गरे ।

कृषकको धानबालीमा क्षति हुँदा लगानी माटोमा मिल्नुका साथै वर्ष दिनको कमाइ गुमाएका छन् । यसरी वर्ष दिनको कमाइ माटोमा मिल्दा किसान चिन्तित बनेको अधिकारीले बताए । असिनाले धानखेतीमा क्षति पुर्‍याउँदा खाद्य संकट हुनसक्ने कृषि कार्यालय, तेह्रथुमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: