क्याटलान स्वतन्त्रतामा लागेका नेता पुज्डमोन विरुद्ध पक्राउ आदेश

काठमाडौं, कात्तिक १८ । क्याटलान स्वतन्त्रतामा लागेका नेता कारलस पुज्डमोन र उनका चारजना पूर्व मन्त्रीहरुविरुद्ध स्पेनले पक्राउ आदेश जारी गरेको छ। मड्रिडस्थित उच्च अदालतमा उपस्थित नभएपछि एकजना न्यायाधीशले उनीहरुविरुद्ध पक्राउ आदेश जारी गरेका हुन्।
क्षेत्रीय सरकारका ९ जना पूर्व सदस्यहरुलाई चाहिँ न्यायिक हिरासतमा लगिएकोमा एकजना ५० हजार युरो तिरेर जमानतमा रिहा भएका छन्।

उनीहरुमाथि क्याटलोनियाको स्वतन्त्रताका लागि विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोग गरेको आरोप लगाइएको छ।

बेल्जियमका अभियोजनकर्ताहरुले स्पेनबाट जारी गरिएको पक्राउ पूर्जी आफूहरुले प्राप्त गरेको बताएका छन्। न्यायाधीशहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाउन दिनुअघि आफूहरुले ती कागजातको अध्ययन गर्ने अभियोजनकर्ताहरुले उल्लेख गरेका छन्।

स्पेनले विद्रोह र देशद्रोहको मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलान नेताहरु गत हप्ता बेल्जियम पुगेका थिए।
बर्खास्त गरिएका क्याटलान पूर्व राष्ट्रपति पुज्डमोनले निष्पक्ष सुनुवाइको सुननिश्चितता नभएसम्म स्वदेश नफर्किने बताउँदै आएका छन्।

स्वतन्त्रताका लागि गत अक्टोबर १ मा गराइको जनमत संग्रहलाई स्पेनले अवैधानिक घोषणा गरेपछि एक हप्ताअघि क्याटलोनियाको संसद्ले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।

त्यसपछि स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाको संसद् विघटन गर्दै त्यहाँ प्रत्यक्ष शासन लागू गरेका थिए। उनले निर्धारित समयअगावै आउँदो डिसेम्बर महिनाको २१ तारिखमा त्यहाँ चुनाव गराइने घोषणा समेत गरेका थिए। -बिबीसीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: