गाऊँका आमाहरू भेट्दा भावुक भए प्रचण्ड, फोटोफिचर

शिवनगर(चितवन), कात्तिक १८ । अगाडि सानो टेबल, पछिल्तिर ५, ७ प्लास्टिकका कुर्चीहरू १ मालाले ढाकिएका नेताहरू माझ बिस्मृतिमा डूबेका प्रचण्ड !

‘ओहो, आमा तपाई !’ कार्यक्रम संचालन भइरहेको बेला एक जना वृद्दा माला लिएर आफू सामु देख्दा प्रचण्डको मुखबाट निस्कियो, ‘सन्चै हुनु हुन्छ नि !’

वृद्दाले प्रचण्डको हात अघि बढाईन । प्रचण्डले कसिलो हातले वृद्दका हात च्यापे ! वृद्दाले दुवै हातले प्रचण्डको गाला मुसारिन् । लाग्थ्यो, प्रचण्ड सानो बालक हुन् र मेलापातमा भेटिने आफन्तहरूले उनलार्इ माया गरिरहेका छन् ।

उता देवि ज्ञवाली माईकमा थिए, चितवन(३ बाट प्रदेश सभाका उम्मेदवार कृष्ण भूर्तेल र रामलाल महतोले बोलिरहेका थिए । यता प्रचण्डको गालामा मालाहरु थपिदैं थिए, छवीलाललाई काखमा लिएर खेलाउनेहरूको न्यानो स्पर्शले प्रचण्ड भावुक भइरहेको स्पस्ट देखिन्थ्यो उनको मुहारमा ।

र, देविको उदघोषसँगै प्रचण्डले माइक समाते । एक छिन मौनता छायाे, सबैका आँखा प्रचण्डतिर साेझिए। ‘आदरणीय बुवा आमा, काकाकाकी’ प्रचण्डले बोल्न सुरु गरे । उनको स्वरमा आद्रता थियो । ‘म आज अरु ठाऊमा बोले ज़स्तो सम्बोधन गर्न सक्दिन ।’ प्रचण्डले भने, ‘मलाई हुर्काउने आमा बुवा, काकाकाकी, मसँग पढ़ने, गुच्चा खेल्ने साथीभाइ यहाँ छन, म भावुक बनेको छु । अरु ठाउँ ज़स्तो भाषण गर्न सक्ने अवस्था छैन् ।’

प्रचण्डले यसो भनेपछि शिवनगरका वासिन्दाहरूमाझ निस्तब्धता छायो एकछिन । ‘जीवनका कैयन घुम्ती र संघर्ष पार गर्दै आज उम्मेदवारको रूपमा तपाईहरू माझ आएको छु ।’ प्रचण्डका आँखा रसाए, ‘जे सिके, देशका लागि जे गर्न सकें, सबै तपाईहरूले दिएको शिक्षा, माया र प्रेरणाले हो । यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु ।’

प्रचण्डले यी शब्द व्यक्त गर्दा उनलार्इ सुनिरहेकाहरूका आँखा रसाए । शिवनगर, प्रचण्डको बाल्यकाल बितेको गाउँ । उनले कैयन साथीहरू भेंटे सभामा । क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्न एकाबिहानै शिवनगर पुगेका थिए ऊनी ।

‘केही गर्न रहर छ, सांसद बन्न मात्र चुनावमा उठेको होईन । प्रचण्डले भने, ‘एउटा समृद नेपाल बनाउने मेरो सपना हो, त्याहि अठोट बोकेर तपाई हरूमाझ आएँ । चितवनका जनताप्रति पूरा भरोसा छ । दण्ड दिनुहुन्छ भनेपनि स्वीकार्छु तर, त्यसको सम्भावना छैन् ।’

प्रचण्डले बोल्ने क्रममा कसैलाई आक्षेप लगाएनन्, न त आश्वासन नै बाँडे । उनी पुरै भावुक थिए । उमेरले ६३ पुगेका प्रचण्ड, शिवनगर पुग्दा स्मृतिका छालहरूले घेरिएका देखिन्थे । १५ मिनेटको सम्बोधनमा उनले धेरै पटक गुच्चा खेल्ने साथीहरू सम्झिए ।

‘बिहानले दिनको भविष्यवाणी गर्छ भन्ने उखान छ नी’, अन्तिममा उनले भने, ‘आज तपाईहरूले देखाएको माया र उपस्थितिले चुनावमा हामी परिवर्तनकारीहरूको  सुखद भविष्य देखाएको छ । नमस्ते, अभिवादन !’ 

 

 

 

नयाँपत्रिकाबाट साभार ।

कमेन्ट गर्नुहोस्