‘बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती’

चितवन, कात्तिक १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना माओवादी ‘जनयुद्ध’ को सबैभन्दा ठूलो गल्ती भएको बताएका छन ।

दिवाकर–तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा उद्घाटन गर्दै उहाँले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए । बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुग्नुभएका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने बताए ।

उनले आफ्नो पूर्णकालीन राजनीति माडीबाटै शुरु गरेका थिए । घटनापछि दोस्रो पटक उनी माडी पुगेका हुन । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उनी माडी पुगेका थिए । त्यतिबेला पीडितका लागि रु ६० लाखको एकमुष्ट राहत घोषणा गरेका थिए । प्रचण्डले सो रकम जिल्लामा निकासा भए पनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुनेछन् भन्दै उहाँले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताए ।

विसं २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । उक्त घटनाका घाइते अहिले पनि कतिपय उपचाररत छन् भने कतिपय अपाङ्ग अवस्थामा छन् । उक्त घटनापछि राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा माओवादीको चर्को आलोचना भएको थियो ।

माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उनले निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने बताए । आगामी पाँच वर्षभित्र अब बन्ने सरकारले सो समस्याको समाधान गर्ने उनले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले देशको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने नेतृत्व अब विकास हुने बताए । वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, आज मात्रै राप्रपा प्रजातान्त्रिक चितवनका अध्यक्ष छाडेर माओवादी प्रवेश गरेका बद्री तिमिल्सिनालगायतले बोलेका थिए । सो अवसरमा तिमिल्सिनासँगै राप्रपा प्रजातान्त्रिकका दर्जनौं३१ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: