कोमल र कुबेर वलीको उम्मेदवारी फिर्ता

दाङ, कात्तिक १९ । एमालेबाट टिकट नपाएपछि वागी मनोनय दर्ता गराएकी कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । केही समयअघि मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेकी वलीले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी थिइन् ।

घोराहीमा आइतबार पत्रकार सम्मेलन गरी वलीले एमाले उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । उम्मेदवारी दर्ता गर्दा उनले एमालेले धोका दिएको बताएकी थिइन् ।

‘मलाई एमालेले धोको दियो । कुनै पनि सूचीमा नाम राखेन,’ उम्मेदवारी दिँदा उनले भनेकी थिइन्, ‘जनतामाझ परीक्षण हुने उपयुक्त मौका आएको छ । निर्वाचनको तयारी गरिसकेकाले रोकिन सक्दैन।’

यसैगरी प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. ३ क मा उम्मेदवारी दिएका माओवादी पोलिटव्युरो सदस्य एवं पूर्वसभासद् कुबेर वली र ३ ख बाट उम्मेदवारी दिएका गेदलाल भण्डारीले पनि फिर्ता लिएका छन् ।

एमाले अनुशासन समितिले शनिबार विज्ञप्ती जारी गर्दै पार्टीको निर्णय विरुद्ध गई बागी उम्मेदवारी दिएकालाई आफ्नो उम्मेदवारी फिर्ता लिन भनेको थियो । यदि त्यसो नगरे पार्टीका विधान बमोजिम कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएको थियो ।

कमेन्ट गर्नुहोस्