समृद्ध नेपाल मेरो परिकल्पना : प्रचण्ड

एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना पूरा गर्न प्रचण्डको जीत अनिवार्य : देवी ज्ञवाली

काठमाडौं, कात्तिक १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध चितवन र नेपालको परिकल्पनासहित आफूले चितवन क्षेत्र नं. ३ बाट उम्मेद्वारी दिएको बताएका छन ।

आइतबार दिउँसो चितवनको गंगानगरमा आयोजित प्रचण्ड विजय अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले भने, “मलाई धेरै जिल्लाका साथीहरुले हाम्रो जिल्लाबाट चुनाव लड्नुपर्यो भनेर अनुरोध गर्नुभएको थियो । तर, मैले यसपटक चितवनबाटै चुनाव लड्ने अठोटका साथ आएको छु । म चुनाव जित्न मात्रै चितवन आएको होइन, चितवनको समृद्धिमार्फत् देशमा एउटा नयाँ सन्देश दिन र देशको नेतृत्व लिन तपाईहरुको बीचमा आएको छु ।”

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्डसँग रिसाएको भन्ने हल्ला भ्रामक र गलत : रमेश मल्ल

“अब चितवनका सबै सडकहरु कालोपत्रे हुनेछन्, चितवनका सुकुम्बासीका समस्या समाधानका लागि बैकल्पिक व्यवस्था गरिनेछ” अध्यक्ष प्रचण्डले भने, “जंगली जनावरको आतंकलाई नियन्त्रण गर्न, नारायणी र राप्तीमा तटबन्ध गर्न, सबै सडकहरुलाई कालोपत्रे गर्न हामीले विशेष पहल गर्नेछौं । नारायणी र राप्तीमा तटबन्ध गरी रिङ्गरोड बनाएर चितवनको पर्यटकीय विकास गरिनेछ । पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युतका सम्भावनाहरुलाई प्रचुर मात्रामा प्रयोग गरिनेछ । समृद्ध चितवनको निर्माण हाम्रो सपना हो ।”

कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले राष्ट्रिय स्वार्थसामू व्यक्तिगत स्वार्थ प्रमूख हुन नसक्ने बताए । नेता ज्ञवालीले भने, “कतिपयले मलाई अस्तिको कुरा बिर्सिस् भनेर सोध्नुहुन्छ । हो मैले अस्तिको कुरा बिर्सें । राष्ट्रिय हितका सामू मेरो व्यक्तिगत स्वार्थ ठूलो हुन सक्दैन । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना सार्थक पार्न प्रचण्डको जीत अनिवार्य छ ।”

याे पनि पढ्नुस  सगरमाथाले विश्वभरिका जनताको एकता र गौरवलाई जोड्ने काम गरेको छ : प्रचण्ड

कार्यक्रममा शनिबार माओवादी प्रवेश गर्नुभएका राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले प्रचण्डको विजयका लागि आफू माओवादी केन्द्रमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “बरु प्रचण्डलाई चितवन जरुरी नपर्ला । तर, चितवनलाई प्रचण्ड जरुरी छ । मैले माटो मूठीमा लिएर चितवनको विकास सोचें, समृद्धि सोचें । प्रचण्डको जीतले मात्रै चितवनको विकास सम्भव देखेर माओवादी केन्द्रमा आएको छु । हामीले प्रचण्डलाई कम्तिमा २० हजारको मत अन्तरले विजय बनाएर देखाउने छौं ।”

याे पनि पढ्नुस  कम्युनिष्ट शक्ति कमजोर पार्ने षड्यन्त्र जारी छ : प्रचण्ड

कार्यक्रममा बाम गठबन्धनका चितवन ३ ९क० का उम्मेदवार कृष्ण भूर्तेल, ३ ९ख० का उम्मेद्वार रामलाल महतो लगायतका वक्ताहरुले राजनीतिक स्थिरता र विकासका लागि बामपन्थीहरुले जित्नैपर्ने बताउनु भयो । आइतबार नै चितवनको चनौली र चम्पानगरमा आयोजित कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।

आइतबारका विभिन्न कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा परित्याग गरी १०० भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनमा प्रचण्डको उम्मेद्वारीसँगै प्रचण्ड विजय अभियानमा सामेल हुनेहरुको संख्या ह्वात्तै बढेको छ ।

कमेन्ट गर्नुहोस्