अागामी जनवरीबाट टेनिस स्टार मर्रे टेनिश कोर्टमा उत्रिँदै छन्

कार्तिक २२ । ब्रिटिश टेनिस स्टार एन्डी मर्रे आगामी जनवरीबाट कोर्टमा उत्रने भएका छन् । चोटका कारण गत जुलाईबाट टेनिस कोर्टबाहिर रहँदै आएका मर्रेले आगामी जनवरीबाट प्रतिस्पर्धामा उत्रने जानकारी दिएका हुन् ।

हिप इन्जुरीबाट गुज्रिरहेको मर्रेले मंगलबार स्कटल्याण्डको ग्लासगोमा भएको एक च्यारिटी खेलमा कोर्ट उत्रदै जनवरीबाट आफु प्रतिस्पर्धामा उत्रने बताएका हुन् । च्यारिटी खेलपछि आफु जनवरीमा अमेरिकाको मियामीमा हुने प्रि सिजन प्रशिक्षणमा जाने बताउदै १६ औं बरियताका मर्रेले भने, “अहिले मेरो लागि मुख्य समस्या हिड्न हो तर म तयार छु । शतप्रतिशत फिट भएर कोर्टमा फर्कने छु ।”

उक्त च्यारिटी खेलमा मर्रे विश्व नम्बर दुई रोजर फेडेररसँग ६ – ३, ३ – ६ र १० – ६ ले पराजित भएका थिए । मर्रे करिब ४ महिनापछि कोर्टमा देखिएका हुन् । मर्रे जुलाईमा भएको विम्बल्डन टेनिसको क्वाटरफाइनलमा साम क्वारीसँग पराजित भएपछि कोर्टमा देखिएका छैनन् । तर, मर्रेले बर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनबाट खेलमा फर्कने योजना बनाएका छन् ।

अष्ट्रेलियन ओपन टेनिस आगामी जनवरी १५ बाट हुने छ । त्यसअघि मर्रेले अमेरिकाको मियामी विशेष प्रशिक्षण र मियामी ओपन खेल्न जाने योजना बनाएको बताए । जनवरी पहिलो साता हुने मियामी ओपन टेनिस अष्ट्रेलियन ओपनको लागि अभ्यास प्रतियोगिताको रुपमा रहदै आएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्