जिल्ला राजनीतिको प्रयोगशाला मात्रै बनेकोप्रित प्यूठानीको दुखेसो

प्यूठान, कात्तिक २२ । केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्यूठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ । यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आउँदा पनि सधैँ प्रयोगशालाका रुपमा मात्रै जिल्ला रहन पुगेको गुनासो सुनिन्छ ।

त्यति मात्रै होइन दुर्गा पौडेल, रेखा शर्मा, नवराज सुवेदी, सूर्य थापा, कृष्णध्वज खड्कासम्म आउँदै गर्दा जिल्ला सधैँ केन्द्रको राजनीति र यो वा त्यो वादको प्रयोगशालाका रुपमा लगातार परीक्षण हुँदै आयो तर यहाँका जनताले सडक, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधा पनि पाउन सकेका छैनन् ।

वामपन्थीको उर्वर भूमि मानिने यो जिल्लामा विसं २०४७/४८ मा नेपाली काँग्रेस विजयी भयो । तत्कालीन समयको अवस्था सम्झँदै प्यूठानका पुराना राजनीतिज्ञ मुक्ति सुवेदी भन्छन्, “जिल्लामा सामान्य विकासको खाका बनाउन खोजेका थियौँ । तर जिल्ला र केन्द्रको माहोल फरक हुँदा गर्न पाएनौँ । हाम्रो समयमा पनि जिल्ला राजनीतिक प्रयोगशालाका रुपमा मात्रै प्रयोग भएको देखियो ।” तत्कालीन समयमा प्यूठानबाट काँग्रेसका शिवराज सुवेदी र मुक्ति शर्माले चुनाव जिते । तर पनि उनीहरुले सोचे अनुसारको काम गर्न पाएनन् । जिल्लाको विकास सुस्त भयो ।

विसं २०५१ को निर्वाचनमा क्षेत्र नं १ मा शिवराज सुवेदी र २ मा नेकपा मसालका नवराज सुवेदीले चुनाव जिते । विसं २०४७/४८ मा जस्तै यस पटक पनि जिल्लालाई राजनीतिक प्रयोगशालाका रुपमा मात्रै लिइयो । जिल्लामा आउने विकास योजना कम हुँदै गए । विसं २०५६ मा केन्द्रको राजनीतिमा काँग्रेसको हालिमुहाली हुँदै गर्दा प्यूठानका दुवै क्षेत्रमा काँग्रेसले हार बेहोर्न प¥यो । नेकपा मसालका हरि आचार्य र नवराज सुवेदीले चुनाव जिते ।

“जिल्लाको विकासमा आचार्य र सुवेदीले चुनाव जितेपछि केही होला भन्ने सोचेका जिल्लावासी यो पटक झन् चपेटामा परे, कारण थियो गिरिजाप्रसाद कोइराला माथिको आक्रमण,” पूर्वसांसद मुक्ति शर्माले ती दिन सम्झँदै भन्छन्, “जिल्लामा मेरो समयमा पनि वामपन्थी आन्दोलनले चाहे जति काम गर्न दिएनन् ।”

प्यूठानले हालसम्म लोकतान्त्रिक शक्तिका रुपमा काँग्रेसका सांसद, वामपन्थी आन्दोलनका रुपमा नेकपा मसाल, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसद पाइसकेको छ । यी जननिर्वाचितबाट जिल्लालाई केही उपलब्धि भएन । विसं २०५६ पछि प्यूठानमा लगातार वामपन्थीले नेतृत्व गर्ने अवसर आए पनि जिल्लाको अवस्था राजनीतिमा सधैँको प्रयोगशाला मात्रै हुन पुग्यो ।

एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतम र हीराबहादुर केसीलाई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्यूठानीले जिताएर पठाए । विकासको आश्वासन दिएका गौतमले पनि जिल्लामा केही गर्न सकेनन् ।

द्वन्द्वकालीन समयमा प्यूठानमा विकासको गति झन् सुस्त भयो । रोल्पा र रुकुमसँग मिल्दो जिल्ला भएकाले पनि यो समयमा प्यूठानको विकास भएन । पछि काँग्रेस र मसाललाई चुनाव जिताएका जिल्लावासीले विकास हुन्छ कि भन्दै नयाँ जनादेश दिए । त्यो थियो द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रलाई जिताउनु । काँग्रेस र मसाललाई चुनाव जिताएका प्यूठानीले २०६४ सालमा नेकपा माओवादी केन्द्रका नारायण अधिकारी र दीपकबहादुर केसीलाई चुनावमा जिताइदिए । तत्कालीन समयलाई सम्झँदै वाम बुद्धिजीवी झपेन्द्र वैद्य भन्छन्, “जिल्लावासीको आश थियो द्वन्द्वबाट आएको पार्टीले त जिल्लाका लागि केही गर्छ भन्ने । तर माओवादी आन्दोलनले फरक रुप लिँदा केही हुन सकेन ।”

पहिलो संविधानसभा निर्वाचनसम्ममा आउँदै गर्दा प्यूठानले काँग्रेस, मसाल र माओवादी केन्द्रलाई परीक्षण गरेको थियो । जिल्लामा त्यसपछि नेतृत्व लिन एमाले आयो । एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतम र हीराबहादुर केसीलाई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्यूठानीले जिताएर पठाए । विकासको आश्वासन दिएका गौतमले पनि जिल्लामा केही गर्न सकेनन् ।

यसपटक निर्वाचन आउँदै गर्दा प्यूठानवासीले दलहरुलाई खबरदारी गर्न थालेका छन् । द्वन्द्वसँगै साहित्य क्षेत्रमा सक्रिय रहेका प्रेस स्वतन्त्रता सेनानी झपेन्द्र वैद्य भन्छन्, “जिल्लालाई सधैँ राजनीतिक प्रयोगशाला बनाएर ध्यान दिइएन ।”

चुनावी मैदानमा काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख डा गोविन्दराज पोख्रेल र वाम गठबन्धनका तर्फबाट नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल मैदानमा छन् । नेपाल बार एशोसिएशन प्यूठानका अध्यक्ष डा शिवराज पण्डितले भन्छन्, “वादको हिसाबले दुर्गा पौडेल भए पनि जिल्लालाई आवश्यक पर्ने व्यक्ति गोविन्द भएकाले दुई बीचको प्रतिस्पर्धा रोचक भएको छ ।”

जिल्लामा हालसम्म लगातार नेतृत्व गर्दै राष्ट्रिय जनमोर्चा शक्तिमा आए पनि केन्द्रमा पहुँच नहुँदा खासै केही गर्न नसकेको आरोप लागेको राजमोले चुनावी मैदानमा पौडेललाई उतार्दा अधिकाशंले परिवारवाद भएको भन्दै आलोचनासमेत गरेका छन् ।
प्रजातन्त्रवादी प्रध्यापक संघका केन्द्रीय सचिव डा विष्णु पोख्रेल यस पटक विकास दिन सक्ने उम्मेदवार विजय हुने संकेत आएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्