हरिहर आश्रममा बालाचतुर्दशी मेला हुने

पोखरा, कात्तिक २३ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पोखरा–२० भलामस्थित हरिहर आश्रममा विगत जस्तै यस वर्ष पनि बालाचतुर्दशी मेला लाग्ने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको उत्तरी भेगमा अवस्थित सो धार्मिक क्षेत्रमा मंसिर १ गते उक्त आश्रम परिसरमा मेलासँगै सत्बिज छर्ने कार्यक्रम रहेको हरिहर सेवा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विसं १९०६ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्टदेव हरिहर भगवान्को पूजा आराधना गर्नु र मन्दिर वरिपरिको वन गुलजार पार्नु भनी अदल तोकिएको सनदपत्रमा उल्लेख रहेको हरिहर गुफा सेवा समितिका सचिव गणेश खत्रीले बताए ।

उहाँका अनुसार पोखरा र आसपासका विभिन्न स्थानबाट मेलामा आउने भक्तजनको सुविधानका लागि समितिको पहलमा यातायात सुविधा, मन्दिर परिसरसम्म पुग्ने बाटो सरसफाइ, खानेपानी, स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।

हरिहर सामुदायिक वन क्षेत्रभित्र लगभग ३५ रोपनी क्षेत्रफलमा फैलिएको सो आश्रम परिसरमा हरिहर, पञ्चमुखी हनुमान, गणेश, अम्वरेश्वरलगायतका शिवालय स्थापना गरी परापूर्वकालदेखि नियमित पूजा आराधना हुँदै आएको छ ।

बालचतुर्दशी मेलामा प्रत्येक वर्ष १० हजारभन्दा बढी श्रद्धालु भक्तजन सद्बिज छर्न आउने गरेको र उहाँहरुले प्रदान गरेको दानबाटै ज्येष्ठ नागरिक आश्रम सञ्चालन हुँदै आएको मेला प्रचारप्रसार समितिका संयोजक रेशम खत्रीले जानकारी दिए । आश्रममा हाल ११ जना ज्येष्ठ नागरिक आश्रित रहेका छन् ।

कमेन्ट गर्नुहोस्