गुल्मीमा मतदाताको फुर्सदमा भोट माग्दै प्रदेशसभा उम्मेदवार : पन्थी

गुल्मी, कार्तिक २३ । गुल्मी क्षेत्र नं. २ ‘ख’ का प्रदेश सभा उम्मेदवार दिनेश पन्थीले जनताले काम सकेर फुर्सद भएपछि मात्र भोट माग्ने गरेका छन् ।

हिजोआज गाउँघरमा नागरिक खेतीबाली स्याहार्न व्यस्त छन । उनीहरुको काममा अवरोध गर्न नहुने भन्दै पन्थीले मतदाताको फुर्सद भएपछि मात्र भोट माग्ने गरेका हुन् ।

दिनभरी मतदाता मेलापात जाने भएकोले पन्थी पनि दिनभरी पार्टीको आन्तरिक भेला र बैठकहरुमा व्यस्त हुने र मतदाता कामबाट फुर्सद भएपछि रातको समयमा घरघरमा पुगेर भोट माग्ने गरेका छन् । पन्थी जिल्लामा सोझा र इमानदार नेताको रुपमा परिचित छन् ।

पन्थीको स्वच्छ छवि र इमानको राजनीतिले गर्दा गाउँघरमा उनलाई ठूलो सम्मान र मतदाताले निकै मन पराएको सहजै बुझ्न सकिन्छ । ‘धेरै आश्वासन दिने थोरै काम गर्ने नेताहरुको बीचमा काम गर्ने कुरा मात्र बोल्ने इमानदार उम्मेदवार पाएका छौँ’, सिर्सेनीका बोमबहादुर थापाले भने– ‘राजनीतिमा इमानदारहरुको पनि स्थान छ भन्ने कुरा यसबाट पुष्टि भएको छ ।’

उनले मतदातासँग भेटेर ठूलो आश्वासन पनि दिने गरका छैनन् । गाउँगाउँमा आएको सिँहदरबारको अधिकारलाई कार्यान्वयन प्रभावकारी बनाउन कानुन बनाएर नागरिकलाई सेवा, सुविधा र आर्थिक समृद्धि हुने भएकोले त्यसतर्फ आफू प्रतिबद्ध भएर लाग्ने गरेको उनको भनाई छ ।

‘हामी पैसा बोकेर आउने होइन, जनताकहाँ पैसा र अधिकार सँधै आइरहने नीति बनाउने हो भनेर जनताले खोजेका अधिकार संविधानमै ल्याएका छौँ, गणतन्त्र ल्यायौँ, गाउँगाउँमा सिँहदरबारका अधिकारसहित पहिला लाख आउने ठाउँमा करोडौँ बजेट ल्यायौँ,’ उनले भने– ‘त्यसैले मैले यस्तो दिन्छु उस्तो दिन्छु भनेर बाँकी तमसुक बनाउँदिन, बरु आइसकेका अधिकार कार्यान्वयन गरी आएको करोडौँ बजेट सदुपयोग गरी आर्थिकरुपमा गाउँलाई सम्पन्न बनाउन नीतिनिर्माणमा लाग्छु ।’

उनले कुनै एकजना व्यक्तिलाई केही रकम दिने भन्दा पनि किसान, मजदुर, दलित, उपेक्षित, महिला, विद्यार्थी, बिरामी, अपांग सबैलाई पुग्ने गरी छुट्याएर बजेट पठाउने नियम बनाएकोले अब त्यसको दुरुपयोग हुन नदिन पनि नियम बनाउने बताए ।

‘जनतालाई समस्या पर्दा अभिभावकको रुपमा हेर्ने नेताले नै हो, दुःख बिरामी र पर्दा म यो क्षेत्रका सबैको अविभावकको रुपमा काम गर्छु’, उनले भने– ‘जनताको आर्थिक समृद्धिका लागि सबैलाई स्वरोजगारी पुग्ने गरी आयआर्जनका कार्यक्रम र विकासका योजनालाई बजेट ल्याउने नीति बनाउन लाग्छु ।’

उम्मेदवार पन्थीले संविधानमा उल्लेखित विषयहरुलाई तीव्र कार्यान्वयन गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी गरिबीको अन्त्य गर्ने आफू र आफ्नो पार्टीको मुख्य योजना रहेको बताए ।
चुनावी प्रचारको क्रममा हुने सभाहरुका अरुको आलोचना नगर्ने उम्मेदवार पन्थीले माओवादी पार्टीका एजेण्डामा देश चलिरहेकोले अब ती एजेण्डाको कार्यान्वयन गरेमा तीव्र विकास हुने बताए ।

‘विकासका लागि योजना चाहिन्छ, एजेण्डा चाहिन्छ, त्यही एजेण्डाका कारण निरंकुश राजतन्त्र हटेर गणतन्त्र आयो, सबैलाई समेट्ने अधिकार आए, सिंहदरबारको अधिकार गाउँगाउँमा आयो’ उभिन्छन्– ‘अब हामीसँग विकासको एजेण्डा छ, विकास पनि सबै जनता हर्सित हुने गरी आउँछ, कसैलाई काखा, कसैलाई पाखा गर्ने होईन ।’

जनताले अब केही वर्षमा गाउँको मुहार फेरेको हेर्न चाहने हो भने एजेण्डा गत हिसाबले आफ्नो प्रतिस्पर्धी कोही नभएको उनको दाबी छ । सँधै परिवर्तन भइरहने सरकार र विकासका अस्थिर योजनाबाट मुक्त गरी देशको मुहार फेर्न बामगठबन्धन भएको उनको दावी छ ।

‘हामी देशमा सँधै अस्थिरता हैन, स्थिर सरकार बनाएर केही वर्षमै गाउँको मुहार फेर्न चाहन्छौँ, त्यसका लागि बामगठबन्धन भएको हो’ उनले भने – ‘विकास, स्थिरता र जनताको हित चाहनेका लागि बामगठबन्धनको प्रतिस्पर्धी कोही छैन ।’

यसअघि गुल्मी क्षेत्र नम्बर २ का वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यकाका एमाले उम्मेदवार गोकर्ण विष्टले किसानहरुसँग खेतमै सभा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: