महिलाहरुलाई प्रचण्डकाे आग्रह: ‘टिकट पाइएन भनेर मन नदुखाउनु’

चितवन, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका वामपन्थी महिलाहरुलाई उम्मेदवारका लागि टिकट पाइएन भनेर मन नदुखाउन आग्रह गरेका छन् ।

भरतपुरस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
उनले महिलाहरुको सहभागिताले मात्रै सबैखाले परिवर्तन दिगो हुने बताउँदै चितवनमा महिलाहरुले यसपटकको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले जिताएर नयाँ रेकर्ड कायम गर्नुपर्ने बताए ।

मलाई थाहा छ तपाइँहरुको मन दुखेको छ, चितवनमा महिलाले उम्मेदवार बन्न नपाएकोप्रति इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रतिनिधि सभाको तीन सिट र प्रदेश सभाको छ सिटमध्ये कुनै एक सिटमा पनि महिलालाई टिकट दिन सकिएन । चितवनमा एक जना पनि महिला उम्मेदवार नहुनु हाम्रो कमजोरी नै हो । यसलाई अकस्मातको घटना सम्झेर चित्त बुझाउनु होला ।’

नयाँ संविधान जारी गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेरै सम्भव भएको प्रचण्डले दावी गरे ।

‘हामी दुई वामपन्थी पार्टी मिलेर राष्ट्रपति पदमा महिला पु¥यायौँ । जनजाति महिलालाई सभामुख बनायौँ । प्रधान न्यायाधीशमा पनि महिलालाई लग्यौँ।’ प्रचण्डले भने, ‘हामी वाम गठबन्धनका दुई दल महिलाहरुको अधिकारप्रति सचेत छौँ । अहिलेको कमजोरी भविष्यमा दोहोरिने छैन ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि हजारौँ महिलाले बलिदानी दिएको र लाखौँ महिला सडकमा उत्रिएको स्मरण गरे ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन कि भनेर शंका नगर्न महिलाहरुलाई अनुरोध गरे । ‘वाम गठबन्धन चुनावी तालमेलका लागि मात्रै हो कि पार्टी एकता पनि हुन्छ भन्ने तपाइँहरुलाई लागेको होला,’ प्रचण्डले

भने, ‘पार्टी एकता त भई नै सक्यो, घोषणा हुनमात्र बाँकी हो । पार्टी एकता हुन्छ, शंका नगर्नुहोस् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले बृहद महिला भेलाले वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुको विजयको संकेत गरेको बताए ।

उनले वाम गठबन्धनपछि हार्ने निश्चित देखेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले होश गुमाउन थालेको बताए । आगामी मंसिर महिनाभित्र वामपन्थीहरुको दुईतिहाई बहुमतको सरकार बन्ने उनको दाबी थियो ।अखिल नेपाल महिला संघ चितवन र अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनको आयोजनामा भएको महिला भेलामा एक हजार जनाभन्दा बढी महिला सहभागी थिए ।

कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, अनेम संघ केन्द्रीय उपाध्यक्ष सीता पौडेल, अनेम संघ क्रान्तिकारी केन्द्रीय सदस्य शर्मिला विक, नेकपा एमाले चितवनकी सचिव पार्वती रावलले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्