सबै वामपन्थी मिलेर अगाडि जाउन भन्ने जनताको चाहाना पूरा हुँदैछ् : पोखरेल

बर्दिवास, कात्तिक २३ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अब एउटा लामो कालखण्डसम्म मुलुकले स्थिर सरकार पाउने दाबी गरेका छन ।

महोत्तरी–१ बाट वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता पोखरेलले बिहीबार बर्दिवास–३ रजवासमा चुनावी घरदैलो कार्यक्रमको शुरुआत गर्दै नेकपा एमाले र आफ्नो पार्टीसहितका वामपन्थी मिलेर चुनावमा उत्रिएपछि अब स्थिर सरकार बन्ने विश्वसनीय आधार बनेको बताए ।

“नेपाली जनताको सबै वामपन्थी मिलेर अघि बढुउन भन्ने चाहना रहँदै आएको थियो”, विनाविभागीयमन्त्री पोखरेलले भने, “हामीले जनताको यो चाहना पूरा गरेका छौँ ।”

आफूहरुको सहकार्य र सहमतिको राजनीतिले वामपन्थी मात्र नभएर फरक विचारका अन्य शक्तिलाई पनि विचार मिल्नेसँग सहकार्य गर्न उत्प्रेरित गरेको बताउँदै नेता पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएसँगै मुलुक नयाँ युगको नयाँ चरणमा प्रवेश गर्ने भएकाले यो अभिभारा पूरा गर्न वामपन्थीको चुनावी अभियानमा खुला सहयोगका लागि आग्रह गरे ।

सोही कार्यक्रममा महोत्तरी–१ प्रदेशसभा (क) क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार एमाले नेतृ शारदा थापाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेर मुलुकको समृद्धिको ढोका वामपन्थीले नै खोल्न सक्ने बताइन ।

कमेन्ट गर्नुहोस्