Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी हुन गुल्मीमा साख जोगाउने र भत्काउने हस्तीहरु ..

काठमाडौं, कात्तिक २४ ।  आगामी निर्वाचनमा वाम गठबन्धनबाट एमालेका र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रभावशाली नेता प्रतिनिधिसभाको प्रतिस्पर्धामा छन् । दुई क्षेत्र रहेको गुल्मीमा पुरानो किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा रोचक बन्दै छ ।

दोस्रो संविधानसभा निर्वाचनमा तीनवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा अहिले दुईवटा मात्र क्षेत्र छन् । त्यस्तै, प्रदेशमा चारवटा क्षेत्र छन् । दोस्रो संविधानसभा निर्वाचनमा दुई क्षेत्रमा कांग्रेस र एउटामा एमाले विजयी भएका थिए ।

त्यसवेला क्षेत्र नं १ मा कांग्रेसका कृष्ण छन्त्याल र क्षेत्र नं २ मा कांग्रेसकै चन्द्र भण्डारी विजयी भएका थिए । क्षेत्र नं ३ मा एमालेका गोकर्ण विष्ट भारी मतले विजयी भएका थिए । अहिले निर्वाचन क्षेत्र गाभिएपछि नयाँ मतदाता पनि थपिएका छन् ।

प्रदीप ज्ञवाली भर्सेज चन्द्र भण्डारी

क्षेत्र नं १ मा एमाले र कांग्रेसका दुई प्रभावशाली केन्द्रीय नेता प्रतिस्पर्धामा छन् । त्यहाँ एमालेसचिव प्रदीप ज्ञवाली र कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।

दुई नेताबीचको प्रतिस्पर्धा नयाँ भने होइन । दोस्रो संविधानसभा निर्वाचनमा ज्ञवाली भण्डारीसँगै पराजित भएका थिए । हाल परिमार्जन भएको सो क्षेत्रमा जिल्लाका कालिगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिकाका साथै रेसुंगा नगरपालिकाका ७ देखि १४ वडा पर्छन् ।

गत स्थानीय तहको निर्वाचनका आधारमा एमालेभन्दा कांग्रेसको मत १५ सयले बढी छ । तर, माओवादीको सात हजार मतका कारण वाम गठबन्धनका ज्ञवाली बलिया देखिएका छन् ।

गोकर्ण विष्ट भर्सेज चन्द्रबहादुर केसी

क्षेत्र नं २ मा एमाले सचिव गोकर्ण विष्ट र कांग्रेसका चन्द्रबहादुर केसीबीच प्रतिस्पर्धा हुनेछ । गत दोस्रो संविधानसभा निर्वाचनमा विष्ट फराकिलो अन्तरले विजयी भएका थिए । अहिले उनलाई माओवादीको पनि साथ छ । कांग्रेस उम्मेदवार केसी आफू पुरानो नेता भएकाले सहजै जित्ने दाबी गर्छन् । उनी कांग्रेस गुल्मीका पूर्वसभापति हुन् । उनी जिविसका पूर्वसभापति पनि हुन् ।

यो निर्वाचन क्षेत्रमा मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका साथै मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाका वडा नं. १ देखि ६ पर्छन् । गत स्थानीय निर्वाचनमा रेसुंगा नगरपालिकाका ६ मध्ये कांग्रेसले चार र एमालेले दुईवटा वडामा जितेका थिए । अन्य पाँचवटा तहमध्ये एमालेले चार र माओवादीले एउटामा जित हासिल गरेका थिए । सो निर्वाचनमा एमालेले करिब २७ हजार चार सय र माओवादीले करिब आठ हजार नौ सय मत पाएका थिए । कांग्रेसले भने करिब १८ हजार चार सय मत पाएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: