रोल्पामा वर्षमान पुनको गाडीलाई लक्षित गरी एम्बुस बिष्फोट

हाम्रो अभियान रोकिदैन : अनन्त

राेल्पा, कात्तिक २५ । नेकपा माअाेवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त ‘ चढेकाे गाडीलार्इ लक्षित गरी रोल्पाको माडीगाउँपालिका– १ स्थिति भिताबाङमा एम्बुस बिष्फोट गराइएको छ । राेल्पाबाट प्रतिनिधिसभाका लागि वामगठबन्धनका उम्मेदवार पुन चुनाव प्रचार अभियानमा छन ।

एम्बुस बिष्फोटबाट पुनका सुरक्षार्की चढेको गाडीमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने नभएको पुनले जानकारी दिए । ‘हामी सुकीदहको सुखाओडारमा भएको सभा सकेर घर्तीगाउँ आउँदै गर्दा घटना भएको हो’, पुनले भने, ‘अहिले हामी सुरक्षित घर्तीगाउँ आइपुगेका छौं ।’

बिष्फोट लगत्तै प्रहरीले जवाफी फायरिङ गरेको थियो । फायरिङपछि नजिकै रहेका तीन जंगलतर्फ भागेको प्रहरीले जनाएकाे छ । विष्फाेट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । घटनासँग सम्बन्धीत व्यक्तिहरुकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

गाडीमा समानुपातिक उम्रमेदवार जयपुरी घर्ती, एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतका नेता सवार थिए ।

वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट उम्मेदवार दिएको प्रचार अभियानमा रहेका पुनले आफूहरुको हत्याको योजनासहित बम विस्फोट गराई पनि आफ्नो निर्वाचन प्रचार अभियान नरोकिने बताए । ‘उम्मेदवारहरुको हत्या गर्ने योजनाले सडकमा एम्बुस विच्छ्याएर विस्फोट गराइएको छ,’ पुनले भने, ‘हामी बाँच्न सफल भयौँ । तर यो विस्फोटले हाम्रो निर्वाचन अभियान रोकिदैन ।’

कमेन्ट गर्नुहोस्