दलित बस्तीमा प्रचण्ड: उत्पीडित समुदायका लागि बलियो वाम सरकार आवश्यक

भरतपुर, कात्तिक २५ । चुनाबी अभियान अन्तर्गत घरदैलो कार्यक्रम व्यस्त चितवन क्षेत्र नं. ३ का उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अपरान्ह् भरतपुर २२ धारापानीस्थित दलित बस्ती पुगेका छन । प्रचण्डलाई दलित बस्तीमा भव्य स्वागत गरिएको छ ।

घरदैलो अभियानका क्रममा दलितबस्तीमा पुगेको देशकै प्रमुख नेता प्रचण्डसँग उनीहरुले आफूहरु जमिन्दारको शोषणमा परेको गुनासो गरेका थिए । उनीहरुले वर्षौदेखि जोतभोग गरेको जग्गाको अहिलेसम्म आफूहरुसँग जग्गाधनी पूर्जा नभएको जानकारी गराएका थिए । जग्गाधनी पूर्जा नहुँदा आफुहरुलाई निकै ठूलो समस्या भएकाले बताउँदै पहल गरी दिन आग्रह गरेका थिए ।

खेतीपातीका लागि आफूहरुसँग प्रशस्त जमिन नभएको र भएकाको पनि पूर्जा नहुँदा, व्यापार व्यवसाय गर्नका लागि पूँजी नभएको र अशिक्षाका कारण रोजगारीको अवसर प्राप्त नहुँदा जीविकोपार्जनमा सारै समस्या भएको लगायतका गुनासो राखेका थिए ।

दलितबस्तीका अगुवाका कुरा सुनेपछि जवाफमा प्रचण्डले दलित लगायत सबै समुदायको समस्याका बारेमा आफू जानकार रहेको बताए । उनले दलित समुदायका समस्या मात्रै नभएर देशलाई नै सबै प्रकारका समस्याबाट मुक्त गरी सम्बृद्ध नेपाल बनाउने अभियानमा आफू रहेको बताए ।

प्रचण्डले आजसम्म दलितहरूको भूमिलगायत अन्य सबै अधिकारका लागि आफू लामो लडाई लढ्दै आएको स्मरण गरे । प्रचण्डले स्थायी जनपक्षीय सरकार भए मात्र समृद नेपाल सम्भव रहेको बताए । उक्त अवसरमा प्रचण्डले उत्पीडित समुदायको समस्या समाधानका लागि बलियो र स्थिर वाम सरकार आवश्यक रहेको बताए ।

प्राकृतिक साधनस्रोतले विश्वका अरु देशको तुलनामा नेपाल निकै धनी भएपनि अस्थिर सरकार अक्षम राजनीतिक नेतृत्वकाका नेपालमा अहिलसम्म विकास हुन नसकेको बताउदै प्रचण्डले भने, ‘विकसित नेपालका निमार्णका लागि वाम एकता गरिएको हो ।’

आगामी निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा स्थिर सरकार गठन हुने प्रचण्डले बताए । र त्यो सरकारले अहिले एमाले र माओवादीको साझा घोषणापत्रमा गरिएका प्रतिबद्धता पूरा गर्ने बताए । उनले भने, ‘हाम्रो घोषणापत्रमा सम्बृद्ध नेपालको मार्गचित्र छ ।’ त्यहाँ सबै उत्पीडित जाति, महिला, दलित र मधेसी सबैका हक सुनिशित गर्ने लक्ष्य छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले आगामी १० वर्षमा हामीले कस्तो देश बनाउन चाहेका हौं त्यो विकासको खाका अव बन्ने वामपन्थी नेतृत्वको सरकारले दिने जानकारी दिए ।

दलित बस्तीमा वर्षौदेखि खेत जोतेर पनि जग्गाधनी पूर्जा नभएको अवस्थालाई अन्त्य गर्न जग्गाभनी पूर्जा दिलाऊँन पहल गर्ने उनले बताए । दलितबस्तीका नागरिकलाई नेपाली नागरिकता प्राप्त जुन समस्या छ उक्त समस्या समाधान गरी सहज र सरल माध्यमबाट वितरण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

 

कमेन्ट गर्नुहोस्