जनार्दन शर्मामाथि बम प्रहार गर्नेलाई छुटाउन मन्त्रीले दवाव दिनु डरलाग्दो संकेत–प्रचण्ड

भरतपुर, कात्तिक २५ । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार प्रचण्ड शनिबार दिनभर आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट र अन्तरक्रियामा व्यस्त रहे ।

बिहान बाम गठबन्धनका नेता–कार्यकर्तासँग संक्षिप्त भेटघाटपछि प्रचण्डले ८ बजे शिबनगरका सुकुम्बासीसँग अन्तरक्रिया गरे । अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्याको स्थायी समाधानका लागि आफूले पहल गरेको बताए । अन्तरक्रियामा प्रचण्डले सुकुम्बासीका समस्याबारे चासो थप जिज्ञासा राखेका थिए ।

अन्तरक्रियापछि प्रचण्डले शिबनगर क्षेत्रका सुकुम्बासी क्षेत्रमा घरदैलो र अन्तरक्रिया गरे । घरदैलोपछि शिबनगर चोकमा आयोजित कोणसभालाई प्रचण्डले संक्षिप्त सम्बोधन गरे । कोण सभापछि अध्यक्ष प्रचण्डले राधापुर क्षेत्रमा घरदैलो गरे । त्यसपछि उनले सुन्दरबस्ती क्षेत्रमा आयोजित कोण सभालाई सम्बोधन गरे ।

कोण सभालाई सम्बोधनसँगै प्रचण्डले सुन्दर बस्तीमा सञ्चालन भएको साझा मेसमा खाना खाएर फेरि जनतासँग अन्तरक्रिया थाले। र दिउँसो २ बजे चितवनको रामनगरमा नेकपा एमालेसम्वद्ध पेशागत महासंघ नेपाल चितवन शाखाले आयोजना गरेको बनभोज कार्यक्रममा पुगेर प्रचण्डले संक्षिप्त सम्बोधन गरे ।

बनभोज कार्यक्रमलाई सम्बोधनपछि प्रचण्डले भरतपुरमै एमाले र माओवादी सम्वद्ध कानून व्यवसायीहरुसँग छोटो अन्तरक्रिया गरे । अन्तरक्रिया पश्चात् भरतपुर महानगर २२ का पदमपोखरी, बाक्लोटोल, टाउन, पटाहनी, बनकट्टा र बोटेटोलमा आयोजित ६ वटा कोण सभालाई सम्बोधन गरे । भने उक्त क्षेत्रका जनतासँग भेटघाट र घरदैलो कार्यक्रम सहभागी भए ।

याे पनि पढ्नुस  निर्माण क्षेत्रको सिण्डिकेट पनि तोडिन्छ - प्रचण्ड

घरदैलो, कोणसभा र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले मूख्यतयः तीनवटा विषयमा आफ्नो धारणा राखेका थिए । कम्युनिष्ट एकता र तालमेलको औचित्यबारे प्रचण्डले भने, ‘देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने नेपाली जनताको सपना हामी साकार पार्दैछौं। यसबाट कोही पनि झस्कन आवश्यक छैन। अब देशमा बामपन्थीहरुको बहुमतको सरकार बन्छ, देशको विकास र समृद्धिले गति लिन्छ, देश अब समृद्धिको नयाँ युगमा प्रवेश गर्छ।’

याे पनि पढ्नुस  प्रचण्डले भने– केन्द्र र प्रदेशको चुनाव एकै दिन गर्न सकिने, राजपा निर्वाचनमा नआए आत्मघाती हुने

समसामयिक राजनीतिबारे प्रचण्डले भने, ‘हिजो रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियो। आज वर्षामान पुन चढेको गाडी नजिक माइन बिस्फोट गराइयो। केही दिन अघि हतियारधारी समूह समातिए। अझ मूख्य कुरा त बहालवाला मन्त्रीले नै उनीहरुलाई छुटाउन विज्ञप्ति जारी गरेका छन्। यो सामान्य कुरा होइन। विभिन्न कसरतमा पनि निर्वाचन रोक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयोग गरेर चुनाव रोक्न त खोज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएको छ। चुनाव रोक्न खोजिए त्यो हाम्रा लागि मान्य हुन सक्दैन।’

चितवनको विकासबारे अध्यक्ष प्रचण्डले भने, ‘चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने सोच छ। चितवन जिल्लालाई नै अन्तर्राष्ट्रिय स्तरको शहर बनाउन सकिन्छ। यहाँका सडक, विद्यालय, खानेपानी लगायतका पूर्वाधार विकास मेरो प्राथमिकतामा छन्। चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिन्छ। नारायणी र राप्तीमा तटबन्ध गरेर रिङरोङ बनाउने अनि चितवनको पर्यटनमा क्रान्तिकारी विकास गर्ने सोच छ। कृषि र निकुञ्ज पीडित जनताका समस्या समाधानलाई मैले उच्च प्राथमिकतामा राखेको छु।’

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्– आफू मरेर पनि प्रकाशले पार्टी र आन्दोलनलाई जिताएर गयो

दिनभरको घरदैलो र अन्तरक्रियामा चितवन ३ (ख) का उम्मेदवार रामलाल महतो, एमाले नेता देवी ज्ञवाली, राप्रपाबाट माओवादीमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए । घर दैलोका क्रममा जनतामा निकै ठूलो उत्साह देखिएको थियो। अभियानमा स्थानीय जनताले प्रचण्डलाई माला र पुष्पगुच्छाले स्वागत गरेका थिए।

कमेन्ट गर्नुहोस्