कञ्चनपुरकी छोरी बिना मगरलाई जिताउन नयाँ शक्तिका नेता माओवादी केन्द्रमा प्रवेश

पुनर्वास, कात्तिक २६। कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिना मगरको लोकप्रियता बढेसँगै विभिन्न पार्टीबाट माओवादी केन्द्रमा आउने नेता कार्यकर्ताको लर्को नै लागेको छ ।

बेलडाँडीमा नेपाली कांग्रेसका प्रभावशाली नेता माओवादी केन्द्रमा प्रवेश गरेको केही दिनपछि आईतबार नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य कविराम तामाङ र बौद्ध लामा तथा प्रदेश सदस्य जगत सायर सहित ३० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दक्षिणी क्षेत्रको विकासका लागि बिना मगर नै सक्षम नेतृत्व भएकाले माओवादी केन्द्रमा प्रवेश गरेर महिला नेतृ बिना मगर जिताउने अभियानमा सहभागी भएको केन्द्रीय सदस्य कविराम तामाङले बताए ।

पुनर्वास नगरपालिकामा भएको कार्यक्रममा धनसिंगाका राप्रपा नेता वीरबहादुर बोगटी सहित १५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्ने प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरले कञ्चनपुरको विकास गर्ने अवसर प्रदान गर्न आव्हान गरिन् । ‘अहिलेसम्म कञ्चनपुरको दक्षिणी क्षेत्र विकासबाट वञ्चित रहँदै आयो,’ उनले भनिन्, ‘दक्षिणी क्षेत्रको विकास गर्न सक्ने नेतृत्व चयन गर्ने अवसरको सदुपयोग हुने माहौल बन्दै गएको छ ।’

यस्तै, बेलडाँडी गाउँपालिकाको ४ नम्बर वडाका धर्मसिंह महरा कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार बिना मगरले बेलडाँडी क्षेत्रका आरक्ष विस्थापितको व्यवस्थापन, सीमसार समस्या समाधान, सडक, शिक्षा, खानेपानी, अव्यवस्थित बसोबास लगायतका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

कमेन्ट गर्नुहोस्