चितवनका कम्युनिष्टको अपत्यारिलो र अनौठो हर्कत

एमाले र माओवादीबीच आशंका भने व्याप्त !

गोकर्ण भट्ट/

‘कम्युनिष्टहरु विचित्रका हुन्छन्, आलोचना गर्न परे भित्तामैं पुग्ने गरी गर्छन्, मिल्न परे अङ्गाल्नो हाल्न बेर लाग्दैन ।’

प्रचण्डले मञ्चबाट यसो भन्दा तालीसँगै हाँसोको फोहोरा छुट्यो । ‘केपीजी र मेरो स्वभाव अलि अलि मिल्छ जस्तो छ ।’ प्रचण्डले अगाडि थपे, ‘अलि अलि अटेरी, अलि अलि घमण्डी र लचक हुनु परे पनि बेर नलाग्ने ।’

प्रचण्ड मनोनयनपछि आयोजित सभालाई सम्बोधन गर्दै थिए । दृश्य चितवनको थियो ।

चितवन, यो त्यही चितवन हो जहाँ एमाले र माओवादीबीच शत्रुतापूर्ण सम्बन्धको विकास भएको थियो । देश र विदेशमा यो कटुताले निकै ठूलो चर्चा पायो । यो शत्रुतापूर्ण सम्बन्धले दुई पात्रलाई विशेष चर्चामा ल्यायो । एमालेका देवी ज्ञवाली र माओवादी रेणु दाहाल, दुबै मेयरका प्रतिष्पर्धि ।

एमाले अध्यक्ष ओलीले समेत बेलामौकामा चितवनको चर्चा निकै उचाले । माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर उम्मेदवार भएकोले समेत प्रचण्डको उछितो काढ्न चितवन एउटा नमूना बन्यो आलोचनाको ।

हठात यान्त्रिक ढंगले गरिएको वाम एकता र गठबन्धनको निर्णय यही गतिमा जैविकरुपमा एक अर्कासँग घनिभूत र एकाकार हुने ढंगले विकास भएमा यी सबै सीट वामपन्थीहरुले जित्ने आधार बलियो छन् ।

कांग्रेसको साथ पाएको थियो माओवादीले । एमाले दुश्मन थियो चुनावी मैदानमा । यता एमालेका लागि सरकारमा भएका एमाले र कांगे्रस शत्रु बनेका थिए । यो माहौलबीच भरतपुर महानगरपालिको निर्वाचन सम्पन्न भयो ।

त्यो दृश्य भोग्ने र देख्नेहरुका लागि चितवनमा फेरी एमाले र माओवादी एक भएर अघि बढ्लान भन्ने कल्पना झैं थियो । तर अचम्म, अहिले त्यही चितवनमा सबैभन्दा बढी आत्मिक एकता यी दुई दलबीच देखिएको छ । एउटा सौहाद्र वातावरण, आशंकारहित सम्बन्ध ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म आइपुग्दा भने समय फेरियो । प्रचण्डले भने झैं भित्तैमा पुग्ने गरी आलोचना गरिरहेका माओवादी र एमालेबीच बेग्लै सम्बन्धको विकास भयो । 

‘अब इतिहासलाई थन्क्याएर राखिदिऊँ, हामी समाजवादको महान यात्रामा अघि बढ्न एकताबद्ध बनेका छौं ।” देवी ज्ञवालीले कार्यक्रम सञ्चालन गर्दै भनिरहेका थिए, “तीता कुरा सम्झिएर नेपाली समाजको रुपान्तरण हुँदैन । एकताको यो महान अभियानको पहिलो चरण चुनाव हो ।”

नेपाली कांग्रेससँग सत्तामा सहयात्रा गरिरहेकै बेला नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको निर्णय भएपछि यसले राजनीतिलाई नयाँ ढंगबाट धु्रविकरण गरेको छ । अहिले एकातिर वामपन्थी शक्तिहरु छन् र अर्कोतर्फ नेपाली कांग्रेसलगायतका शक्तिहरु । विगतमा वामपन्थीहरुबीचको तिक्ततापूर्ण सम्बन्ध र दुई भिन्न विचार भएका नेपाली कांग्रेस र माओवादी या नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध तत्कालका लागि सहज देखिएपनि त्यो अस्वभाविक थियो ।

एउटा निर्णाायक अवस्थामा यो सम्बन्ध भत्किुन अनिर्वाय थियो । अन्ततः त्यस्तै भयो पनि । जे जस्तो सम्बन्ध भएपनि वापमन्थीहरु एक ठाउँ आइपुगे । यो स्वभाविक र प्राकृतिक विषय भएकोले तत्कालका लागि कतिपयले नपचाएपनि यो सम्बन्ध अहिले पाच्य बनेको छ । सहज भनेको छ ।

भरतपुरको सभा, सभामा बिभिन्न नेताहरुको सम्बोधन सुन्दा अब यो सम्बन्धले एउटा नयाँ उर्जा र प्रेरणा थपेको देखिन्छ ।

त्यसो त नेपालमा आम जनताले भने कम्युनिष्टहरु विभाजित भएको मन पराएका थिएनन् ।

चुनावको टिकट पाउन एमाले र माओवादीबीच भएको विवाद र स्थानीयस्तरमा एमाले र माओवादीकै नेताहरुले एक अर्कालाई उपयोग गरेर आफ्ना पक्षमा टिकट पार्न गरेको चलखेल र दौडधुपले यस्ता आशंका र अविश्वासलाई थप बढाएको छ ।

सधैं एउटा प्र्र्रश्न उनीहरुको मनमा हुन्थ्यो, “सबै कम्युनिष्टहरुले गरीब दुखीका कुरा गर्छन्, तर मिलेर सरकार किन बनाउँदैनन् ? सर्वहारा र मजदूरको कुरा गर्छन, तर मजदूरहरुकै दशवटा ट्रेड यूनियन बनाउँछन, न जनजीविकाका मुद्दामा मिल्न सक्छन न त सरकारमा नै ।”

जनताको यो मनोभाव भने कम्युनिष्ट नेताहरुले कहिल्यै बुझेनन् ।

उनीहरु सधैं विभाजित नै भइरहे । कहिले सिद्दान्तको नाममा, कहिले नेतृत्वको नाममा । दरभंगा प्लेनम हुँदै दोश्रो राष्ट्रिय सम्मेलनपछि नेपालका कम्युनिष्टहरु कहिलयै एक देखिएनन् । किताबका पानामा लेखेका शब्द शब्दमा उनीहरुले मनोगत विश्लेषण र तर्क गरेर कित्ताहरु बाँडफाँड गरे । यी कित्ताहरुमा नेपाली समाजको रुपान्तरणको मर्म भन्दा बेसी सिद्धान्तको बास्ना झल्किने गथ्र्यो ।

विगत छोडौं, कम्तीमा शान्ति प्रक्रियापछिको पहिलो संविधान सभामा यति कम्युनिष्टहरु मिलेको भए । मुलभूत राजनीतिक मुद्दामा उनीहरु एक हुन्थे भने त्यतिखेर समाजवादी संविधान नै लेख्न पनि कसैले रोक्न सक्थ्यो र ?

अहिले कांग्रेसदेखि राप्रपासम्म ‘समाजवादोन्मुख’ संविधानमा राजी भएको बेला एमाले र माओवादी त्यतिखेर मिलेको भए उनीहरुले संविधानका शब्द शब्द आफुखुसी परिवर्तन गर्न सक्दैनथे र ? न भूमिसुधार गर्न उनीहरुलाई बाधा पुग्थ्यो न त सर्वहारा, किसान मजदूरका मुद्दाहरु सम्बोधन गर्न ।

तर बिडम्बना, अस्तित्वको दम्भमा कम्युनिष्टहरु एक भएनन या उनीहरुलाई एक हुन दिइएन । एमाले बरु कांग्रेससँग मिल्यो, माओवादीले बरु कांग्रेसलाई रोज्यो तर उनीहरुले एक अर्कालाई विश्वास गरेनन् ।

यही अविश्वासमा भरतपुरको निर्वाचनले झनै कट्ता थपेको थियो ।

यही सन्दर्भ बताउँदै भरतपुरको सभामा प्रचण्डले मदन भण्डारीको प्रसंग निकाल्दै एउटा गम्भीर कुरा गरे । इतिहासका संयोगहरुलाई छोप्न नसक्दा त्यसको परिणाम गम्भीर हुन्छ भन्ने प्रचण्डले बताए । प्रचण्डसँग जेठ ११ गते नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने गरी बिस्तृत छलफल गर्ने कार्यक्रम तया भएको तर जेष्ठ ३ गते नै वहाँको हत्या भएपछि त्यो जेठ ११ कहिल्यै नआएको प्रचण्डले बताए । “कल्पना गर्नुस् त ? यदि त्यो जेष्ठ ११ आइदिएको भए के हुन्थ्यो होला ?’

सम्भवतः यदि अहिले ओली र प्रचण्डबीच पार्टी एकता गर्ने निर्णय भएझैं भण्डारी र प्रचण्डबीच एउटै कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको भए ? २०५१ को सरकार कम्युनिष्टहरुको बहुमतको सरकार हुन्थ्यो, २०५२ फागुन १ आउने थिएन । राजतन्त्रविरुद्ध निर्णायक संघर्ष हुन्थ्यो, सत्ताले दमन गथ्र्यो र मदन भण्डारीसमेत बल प्रयोगको अनिवार्य सिद्धान्त स्वीकार्न बाध्य हुन्थे या माओवादीले बल प्रयोग नभइकन पनि बहुमतबाट सुधारात्मक काम गरेर अघि बढने बाटो समात्थे । या २०६३ पछि माथि भनिएझैंको अवस्थामा हामी पुगिन्थ्यो ।
यी इतिहासका सम्भावना थिए । जो भएनन् । तर ढिलै भएपनि नेपालमा अहिले भने कम्युनिष्टहरु एक ठाउँ आएका छन् । 

चितवनको संयुक्त जनसभामा प्रचण्डदेखि सुरेन्द्र पाण्डे र देवी ज्ञवालीदेखि नवीना लामासम्मले वाम एकताको अपरिहार्यता, कम्युनिष्टहरुबीचको जीवित र हार्दिक सम्बन्ध र प्रतिक्रियावादीहरुलाई हराउन जनस्तरसम्म सुदृढ योजनामा जोड दिए । चितवनको सभामा सबै वक्ताहरुले वाम एकताको औचित्य र त्यसले दिन खोजेको सन्देशका बारेमा बढी समय खर्च गरे । सुरेन्द्र पाण्डले झापा विद्रोह र माओवादी विद्रोहका नायकको चर्र्चा गर्दै एउटा महान उद्देश्यका लागि आफ्ना तमाम व्यक्तिगत असहमति, विगतका तीता सम्बन्धहरुलाई अन्त्य गर्दै यी दुबै विद्रोहबाट विकास भएका दुई पार्टीबीच एकता हुने कुरा गरे ।

विगतमा वामपन्थीहरुबीचको तिक्ततापूर्ण सम्बन्ध र दुई भिन्न विचार भएका नेपाली कांग्रेस र माओवादी या नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध तत्कालका लागि सहज देखिएपनि त्यो अस्वभाविक थियो ।

प्रचण्डले पार्टी एकताका लागि मदन भण्डारी छँदै र त्यसपछि २०६४ सालमा समेत प्रयास भएको चर्चा गरे । अन्य नेताहरुले समेत एकताका पक्षमा कुरा गरे । समग्र कार्यक्रमले लौ, अब हामी एक भयौं, हिजो कार्यगतरुपमा कतिपय आलोचना प्रतिआलोचना भएपनि हामी सामूहिकतामा विश्वास गर्ने शक्तिहरु अग्रगमन र रुपान्तरणका लागि एक भएको सन्देश दिए ।

विगतमा यही चितवनमा एकले अर्कोलाई सिध्याउन ज्यान फालेका दुबै शक्तिबीचको यो एकताको अनुभूति बेजोडको थियो । एक अर्थमा इष्र्यालाग्दो ।
कतिपय जिल्लाहरुमा माओवादी र एमालेभित्रै चरम अन्तरविरोध देखिएको छ । एकाअर्काको अस्तित्व स्वीकार्ने कुरामा समस्या देखिएको छ । तर चितवनमा भने त्यो कुरा देखिँदैन । जबकि चितवनमा एक अर्काप्रतिको कटुता सबैभन्दा बढी देखिनु पर्ने हो ? तर त्यो चितवनमा देखिएन । बरु दुबै राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरेर व्यवस्थित र एकीकृत चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको सार्वजनिक गरे ।

“अब वडास्तरमा संयुक्त बैठक बस्नेछन्, संयुक्त चुनावी कार्यक्रम हुनेछन्, हामी कोही पनि एक अर्काप्रति नकारात्मक किसिमका टिप्पणी गर्ने छैनौं ।’ देवी ज्ञवाली आफैले यो कुरा मञ्चमा बारम्बार भनिरहेका थिए ।

कतिपय जिल्लामा अहिले पनि एमाले र माओवादीबीच आशंका व्याप्त छ । चुनावको टिकट पाउन एमाले र माओवादीबीच भएको विवाद र स्थानीयस्तरमा एमाले र माओवादीकै नेताहरुले एक अर्कालाई उपयोग गरेर आफ्ना पक्षमा टिकट पार्न गरेको चलखेल र दौडधुपले यस्ता आशंका र अविश्वासलाई थप बढाएको छ । तर चितवनमा कम्तीमा यो देखिएन । एउटा सहज वातावरणमा दुबैबीच सीटको बाँडफाँड भएको छ । क्षेत्र नं. १ देखि ३ र प्रदेशका उम्मेदवार सर्वस्वीकार्य भएका छन् । मन खिन्न पार्ने एक दुईजना नेताहरु समेत हिजोको कार्यक्रमपछि एकढिक्का भएको देखिएको छ । 

अहिलेको माहौल हेर्दा चितवनका तीन वटै क्षेत्र र प्रदेशका ६ वटा सीटमा वामपन्थीहरु अगाडी देखिएका छन् । हठात यान्त्रिक ढंगले गरिएको वाम एकता र गठबन्धनको निर्णय यही गतिमा जैविकरुपमा एक अर्कासँग घनिभूत र एकाकार हुने ढंगले विकास भएमा यी सबै सीट वामपन्थीहरुले जित्ने आधार बलियो छन् ।

यसले नेपाली कांग्रेस र राप्रपालाई झस्काएको छ । नेपाली कांग्रेसको बलियो जनआधार हुँदाहुँदै पनि यो एकता बलियो हुँदै जाने संकेतहरुले कांग्रेसभित्रै पनि कम्तीमा प्रचण्डलाई नछोडौं भन्ने मत बलियो हुन जाने देखिन्छ ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: