काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसले पहिलो चरणमा मंसिर १० गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
निर्वाचन परिचालन, पछिल्लो अवस्था, आफ्ना उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित कांग्रेसले केन्द्रीय प्रतिनिधि परिचालन गरेको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यले प्रतिनिधि परिचालन गरेको खाँणले बताए ।
दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा पनि केही दिन भित्रै प्रतिनिधि परिचालन गर्ने कांग्रेसले जनाएको छ । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन रणनीति बनाउने समिति संयोजक खाँणले बताए ।