थबाङ पुगेर अनन्तले भने–नेकपा आफैले घोषणा गरेको दलालसँग मिल्यो

थबाङ, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अन्नत’ ले विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफैले घोषणा गरेको दलाल पुँजीवादी संसदीय व्यवस्था पक्षधरसँग सहकार्य गरेर वाम गठबन्धनविरुद्धमा गतिविधि गरेको आरोप लगाएका छन ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यका वाम उम्मेदवार अनन्तले सोमबार थबाङमा आयोजित चुनावी सभालाई संबोधन गर्दै नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा आफ्नो राजनीतिक कार्यदिशाप्रति अलमलमा रहेको दावि गरे ।

थबाङ महाधिवेशनबाट नेकपाले नेपाली जनताको प्रमुख अन्तरसंघर्ष दलाल पुँजीवादी संसदीय व्यवस्थासँग रहेको घोषणा गरेको र त्यहीं व्यवस्थाको नेतृत्व गर्ने नेपाली कांग्रेसँग मिलेर वाम गठबन्धन विरुद्ध लागेको उनको भनाई छ ।

‘यहीं थबाङमा भएको महाधिवेशनबाट विप्लवजी महासचिव चुनिनुभयो । यहींबाट दलाल पुँजीवादी संसदीय व्यवस्थासँग नेपाली जनताको अन्तरसंघर्ष रहेको घोषणा गर्नुभयो । उहाँहरुले जुन व्यवस्थाविरुद्ध संघर्ष घोषणा गर्नुभएको छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्छ’, नेता अनन्तले चुनावी सभामा भने, ‘आज कांग्रेससँग मिलेर वाम गठबन्धन विरुद्ध लागिरहनुभएको छ । यो कस्तो राजनीतिक लाईन हो ? यसमा नेकपा आफै अलमलमा छ ।’

नेकपाले वाम गठबन्धनका उम्मेदवारहरुलाई बम, गोली प्रहार गरे पनि कांग्रेसका उम्मेदवारहरुलाई कुनै पनि अवरोध प्रयास गरेको छैन । केहीं दिन अघि सिंचाई राज्यमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार अमरसिंह पुनले हतियारसहित पक्राउ परेका नेकपाका कार्यकर्तालाई रिहा गर्न माग गरेको थिए ।

चुनावी सभालाई संबोधन गर्दै अनन्तले ढुक्क भएर मतदान गर्न थबाङ्गीलाई अपील गरे । स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले निर्वाचन बिथोल्न निर्देशन दिए पनि स्थानीय कार्यकर्ता र आम थबाङ्गी जनताले निर्वाचनमा भाग लिएको स्मरण गर्दै उनले भने, ‘थबाङ्गी जनताले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । नेकपाले पनि स्थानीय रुपमा निर्वाचनमा भाग लिएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा यो धेरै अर्थपूर्ण छ ।’

अनन्तले राजनीतिक क्रान्तिमा थबाङले पु¥याएको नेतृत्वदायी योगदान कहिल्यै कसैले भुल्न नसक्ने बताए । उनले थबाङले लामो समय राजनीतिक संघर्षमा बिताएकोले अब थबाङको समृद्धिको लागि लाग्नुपर्ने बताए । ‘अब थबाङमात्रै होइन सबैको ध्यान समृद्धितर्फ जानुपर्छ’, उनले भने, ‘हिजो राजनीतिक संघर्ष, क्रान्तिको नेतृत्व पनि माओवादी केन्द्र लगायत वामपन्थी शक्तिले गरे । अब समृद्धिको मार्गको नेतृत्व पनि वामपन्थी शक्तिले गर्छ ।’

कार्यक्रममा अनन्तले थबाङलाई दिर्घकालीन रुपमा देशकै नमूना गाउँ बनाउने घोषणा गरे । ‘यहाँ नमूना गाउँ निर्माण कार्यक्रम चलिरहेको छ । यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै एउटा सांस्कृतिक गाउँ, क्रान्तिको प्रतीक, देशकै नमूना गाउँ बनाउन म लाग्नेछु’, उनले भने ।

अनन्तले समृद्ध रोल्पा र सुखी रोल्पालीका लागि रोल्पालाई समृद्ध, गतिशील र स्मार्ट नमूना जिल्ला बनाउने आफ्नो प्रतिबद्धता जनाए । उनले सहिद मार्गको कालोपत्रे गर्ने, जलजलालाई संरक्षण क्षेत्र बनाउने, थबाङदेखि जलजलासम्म केवलकारको सम्भाव्यता अध्ययन गर्ने, थबाङलाई उत्कृष्ट पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता जनाए ।

अनन्त नेकपाको अवरोध प्रयासबीच चुनावी सभालाई संबोधन गर्न र भोट माग्न सोमबार विहान थबाङ पुगेका थिए । उनलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।

नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनको चुनावी सभामा सहभागी नहुन धम्की दिए पनि स्थानीय बासिन्दा उत्साहपूर्वक सभा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्