Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मधेसी जनतालाई वामगठबन्धनले मात्रै अधिकार र मुक्ति दिलाउन सक्ने

सिराहा, कार्तिक ३० । पूर्वमन्त्री तथा माओवादी केन्द्रका पोलटब्युरो सदस्य अजय शंकर नायक ‘अविनाश’ ले मधेसी जनतालाई वाम गठबन्धनले मात्रै अधिकार र मुक्ति दिलाउन सक्ने बताएका छन् ।

सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेता नायकले चुनावी सभालाई सम्बोधन गर्दै मधेसी जनतालाई वाम गठबन्धनबाहेक अरुले अधिकार दिलाउन नसक्ने बताएका हुन् ।

मधेसवादी दलले वाम गठबन्धनबाट मधेसी जनतालाई अधिकार र मुक्ति मिल्न नसक्ने बताउँदै भ्रम फिँजाएको भन्दै उनले वाम गठबन्धन मधेसी जनताको अधिकार संविधानमा थप समाविष्ट गराउँदै अधिकार दिलाउन तयार रहेको बताएका हुन् ।

मधेसी, जनजाति, थार, मुस्लिम, दलित, महिला लगायत उत्पीडित वर्गलाई अधिकार दिलाउनकै लागि माओवादी–एमाले लगायतका वाम शक्तिबीच गठबन्धन भएको बताउँदै उनले भने, ‘एमाले–माओवादीबीच मधेसी, थारू, जनजाति, दलित, महिला, लगाायत उत्पीडित वर्गको अधिकारलाई संशोधनमार्फत संविधानमा समेट्दै लैजाने सहमति भएको छ, त्यसकारण वाम गठबन्धनबाट नै मधेसी जनतालाई मुक्ति र अधिकार मिल्ने कुरामा आशंका गर्न जरूरी छैन ।’

मधेसी जनताका लागि खुलेको पार्टी भनाउँदाहरूले अहिले आफ्नो पार्टीको नामबाट मधेसी हटाउँदै राजपा, फोरम लगायत राखेको बताउँदै उनले अब मधेसवादी दल भनिनेबाट मुक्ति नमिल्ने प्रष्ट पारे ।

वाम गठबन्धनलाई असफल बनाउन विदेश शक्तिले ठुलाठुला योजना बुनेको बताउँदै भने “विदेशीहरु गठबन्धन भत्काउन सक्रिय छन्, नेपालबाट गरिबी, बेरोजगार, जनजीविका र विकासका समस्या यथावत रहोस् भन्ने ती शक्तिको चाहना छन् ।”

सबै मतदाता र जनता एक भएमा विदेशीको योजना असफल हुने बताउदै उनले देशमा स्थिरता कायम गर्नका लागि गठबन्धनलाई जनताको साथ र सहयोग चाहिएको बताए ।

हरेक टोल र गाउँमा विकास, बेरोजगारी, गरिबी र जनजीविकाको समस्या रहेको बताउँदै उनले ती सबै समस्याको समाधानका लागि वाम गठबन्धन बनेको बताए । पूर्वमन्त्री नायक हाल मतदाताको घरदैलो तथा चुनावी अभियानमा व्यस्त छन् ।

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: