कफीको उत्पादन बढ्दै, निर्यात घट्दै

काठमाडौं, मंसिर १ ।  नेपालमा कफीको उत्पादन बढे पनि निर्यात घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षको तुलनामा ३२ टन बढी कफी उत्पादन भएको छ । तर, यो वर्ष करिब साढे १७ टन (१७ हजार तीन सय ७८ किलो) कम परिमाणमा कफी निर्यात भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखाएको हो । नेपालमा ४२ जिल्लामा उत्पादन भएको कफीको उत्पादन र निर्यात परिमाणलाई विश्लेषण गरी बोर्डले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आव २०७३/७४ मा आठ करोड ४५ लाख ३९ हजार रुपैयाँको ९५ टन (९५ हजार किलो) कफी निर्यात भएको छ । आव २०७२/७३ मा १० करोड ८१ लाख ९१ हजार रुपैयाँ बराबरको एक सय १२ टन (एक लाख १२ हजार तीन सय ७८ किलो) कफी निर्यात भएको थियो । २०७३/७४ मा दुई हजार ६ सय ४६ हेक्टरबाट चार सय ६६ टन कफी उत्पादन भएको थियो । आव २०७२/७३ मा भने दुई हजार ६ सय १८ हेक्टरमा चार सय ३४ टन कफी फलेको थियो । नेपालमा वार्षिक चार हजार टनको हाराहारीमा कफीको माग छ ।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले निर्यात गर्न आवश्यक मापदण्ड पूरा गरेका व्यवसायीले मागअनुसार उत्पादन नगरेका कारण निर्यात दर घटेको हो । सिन्धुपाल्चोक, ललितपुर र गुल्मीको कफी विश्वभरमै उत्कृष्ट मानिन्छ । यिनै तीन जिल्लामा उत्पादन हुने वार्षिक करिब ४० टनको हाराहारीमा अर्गानिक कफी दक्षिण कोरिया र जर्मनीमा निर्यात हुँदै आएको छ ।

‘निर्यातका लागि कफीको बढी माग यिनै तीन जिल्लाका व्यवसायी किसानसँग आउने हो’, कार्यकारी निर्देशक गौतमले भने,‘मागका तुलनामा उत्पादन नहुँदा निर्यात दर घटेको हो ।’ जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडालगायत मुलुकमा अर्गानिक ग्रिन बिन (कफीको कच्चा पदार्थ) का रूपमा निर्यात हुन्छ । बाँकी कफी स्वदेशी बजारमा खपत हुन्छ । नेपालमा वार्षिक करिब ३० करोड मूल्यबराबरको चार सय ३४ टन कफी उत्पादन हुन्छ । यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ । अन्तर्राष्ट्रिय बजारमा वार्षिक आठ हजार मेट्रिक टन कफीको माग छ । नेपाली कफी विश्व बजारमा प्रतिकिलो १० डलरसम्ममा बिक्री हुन्छ । यो मूल्य अन्य मुलुकको कफीले पाउँदैनन् ।

निर्यात मात्रै होइन, गत वर्षमा आयात दर पनि घटेको थियो । बोर्डका अनुसार यो र्वमा ५१ लाख ९२ हजार मूल्यबराबरको कम परिमाणमा कफी नेपालमा आयात भएको छ । २०७३/७४ मा पाँच करोड चार लाख मूल्यबराबरको कफी नेपालमा आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा पाँच करोड ५५ लाख ९७ हजार मूल्यबराबरको कफी आयात भएको थियो ।

‘केही व्यवसायीले भन्सार छलेर चामल, दाललगायत बोराभित्र लुकाएर ल्याइरहेकाले कफीको आयात दरको वास्तविक आँकडा भन्न सकिँदैन’, कार्यकारी निर्देशक गौतमले भने । कफी व्यवसायी कृष्ण घिमिरेका अनुसार नेपालमा कफी खपतदर पछिल्लो समयमा निकै बढेको छ । ‘अहिले प्रत्येक वर्ष नेपालमा सतप्रतिशतका दरले कफी खाने उपभोक्ताको संख्या थपिँदै गएको छ’, घिमिरेले भने,‘कफी पारखीको संख्या बढेसँगै आन्तरिक बजारमै मागअनुसार खपत पनि वृद्धि हुँदै गयो । यसले गर्दा निर्यात दर घटेको हो ।’ आन्तरिक उत्पादन बढेकाले आयातदर घट्दै गएको छ ।

कफीको न्यूनतम मूल्य

बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी गत वर्षकै मूल्यलाई न्यूनतम मूल्य कायम गरेको छ । बोर्डले अर्गानिक प्रमाणीकरण भएको ए ग्रेडको प्रतिकिलो फ्रेस चेरी कफीलाई ८३ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै सोही समूहअन्तर्गतको अर्गानिक प्रमाणीकरण नभएको बी ग्रेडको कफीलाई ७८ रुपैयाँ कायम भएको छ । पार्चमेन्टतर्फ अर्गानिक प्रमाणीकरण भएको ए ग्रेडको प्रतिकिलो कफीलाई चार सय १५ र अर्गानिक प्रमाणीकरण नभएको बी ग्रेडको प्रतिकिलोलाई चार सय रुपैयाँ कायम भएको छ । यस्तै ड्राइ चेरीतर्फ ए ग्रेडको प्रतिकिलोलाई एक सय ४०, बी ग्रेडको प्रतिकिलोलाई सय र सी ग्रेडको प्रतिकिलोलाई ४० रुपैयाँ किसान मूल्य कायम गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्