नेपालले अफगानिस्तानलाई दियो १०४ रनको लक्ष्य, अनिलको अर्धसतक (लाइभ)

काठमाडौं, मंसिर १ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा अाएको नेपालले २८ अोभरमा १०३ रन बनाउँदा सबै विकेट गुमायो ।

अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन् । उनले नेपालको ६ विकेट लिए ।

आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए । मुजिब उर रहमानकै दोस्रो अोभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह अाउट भए । २० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह एेरी, ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पाैडेललाई मुजिब उर रहमानले नै अाउट गरे । अर्धसतक बनाएलगत्तै अनिल कुमार साह पनि मुजिब उर रहमानको बलमा आउट भए । उनले ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए ।

भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए । १५ बलमा ८ रन बनाउँदा पवन सर्राफ अहमदको बलमा स्टम्पिङ भए । किशोर महतो मुजिब उर रहमानकै बलमा शून्यमै आउट भएका हुन् । यस्तै कमल सिंह ऐरी अहमदको बलमा शून्यमै आउट भए ।  १० बलमा ७ रन बनाउँदा सन्दिप लामिछाने रन आउट भए ।

साहब आलमले १५ बलमा ७ रन बनाए ।

Posted by Asian Cricket Council on 16 ನವೆಂಬರ್ 2017

समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । खेलअघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गर्ने बताएका छन् ।

अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने उनले बताएका छन् । ‘अफगानिस्तानसँग हामीलाई सहज छैन । उनीहरुले निकै राम्रो खेलिरहेका छन् । उनीहरुलाई हाम्रो खेल राम्ररी थाहा छ । हामी अन्तिमसम्म पूरै मेहनत गरेर प्रस्तुत हुनेछौँ’ दासले भने ।

उनले सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताएका छन् ।  ‘सेमिफाइनलमा पुग्नु निकै ठूलो प्राप्ती हो । हामीले निकै राम्रो खेलेका छौँ । हामीले लगातार राम्रो खेलेका छौँ । हाम्रो मेहनतले अहिले नतिजा दिइरहेको छ । परिस्थिति अलि कठीन थियो तर हामीले आफ्नो योजनाअनुसार नै काम गर्यौँ’ प्रशिक्षक दासले भने ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । नेपालले आइतबार इतिहासमै पहिलोपटक भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको हो ।

नेपाल यसअघि अफगानिस्तानसँग एसीसी यु–१९ एलिट कपमा सन् २००७ मा ४८ रनले विजयी, २००९ मा ६ विकेटले पराजित, २०११ मा समूह चरणमा ६ विकेटले विजयी र फाइनलमा ६१ रनले पराजित भएको थियो । यस्तै आइसीसी यु–१९ वल्र्ड कप क्वालिफायरमा सन् २०११ मा नेपाल ४२ रनले विजयी भएको थियो । २०१७ मा भने नेपाल १ सय ४२ रनले पराजित पहिलो लिगमा र ९६ रनले दोस्रो लिगमा पराजित भएको थियो । एसीसी यु–१९ प्रिमियर लिगमा सन् २०१४ अफगानिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको थियो । एसीसी यु–१९ प्रिमियर लिगमै सन् २०१५ मा नेपाल १० विकेटले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्