Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आरक्ष विस्थापित शिविरबाट वाम गठबन्धनको संयुक्त प्रचार सुरु

देउवालाई सराप्दै आरक्ष विस्थापितले लगाए बिना र तारालाई ‘विजयको माला’

लालझाडी, मंसिर १ । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्जयन्तु आरक्षबाट विस्थापित गराएर बेघर बनाएपछि ढक्कास्थित अस्थायी शिविरमा बसिरहेका परिवारले कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगर र प्रदेशसभाको १ नम्बर क्षेत्रका उम्मेदवार तारालामा तामाङलाई विजयको माला लगाएका छन् ।

संयुक्त प्रचारप्रसारको सुरुवात गर्दै अस्थायी शिविरमा भएको कार्यक्रमका सहभागीले दुबै उम्मेदवारको भव्य स्वागत गर्दै ‘हाम्रो तर्फबाट विजयको काला हो’ भन्दै माला लगाएका हुन् । ‘शेरबहादुर देउवाले हामीलाई वर्षौदेखि बेघर बनाएर राखेका छन्, यसअघि कांग्रेसका उम्मेदवारले विस्थापितलाई पुनस्र्थापित गर्छौ भनेकाले भोट दियौं, त्यसपछि फर्केरै आएनन्,’ शिविरमा बस्दै आएका प्रेमबहादुर ऐरले भने, ‘यसपालि देउवा सरकारले हामीलाई धान समेत चुट्न दिएन । देउवालाई हाम्रो श्राप लाग्ने छ ।’ वाम गठबन्धनले मात्रै विस्थापितको समस्या समाधान गर्न सक्ने भएकाले शिविरका सबै भोट वाम गठबन्धनका उम्मेदवारलाई जाने स्थानीयले बताएका छन् ।

शिविरमा आयोजित कोणसभामा बोल्दै आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले राजनीतिक नेतृत्वले नचाहेकै कारण विस्थापितको पुनस्र्थापना हुन नसकेको बताए । ‘विभिन्न आयोग बनाएर नाम लिस्ट संकलन गर्ने काम मात्रै भएका छन्, अब वाम गठबन्धनको सरकारले सबै विस्थापितको पुनस्र्थापनाका लागि काम गर्नुपर्छ ।’ विगतका सांसद र सरकारले आश्वासन दिएर निराश बनाउने काम मात्रै गरेकाले वाम गठबन्धनका उम्मेदवारले त्यसो नगर्न भण्डारीले सुझाव दिए । ‘फेरि हिजो जंगली हात्तिले ७ वटा घरटहरा भत्काएको छ, नेपाली सेनाले ती घरटहरा बनाउन दिइरहेको छैन,’ उनले भने, ‘अब हामीले कहाँ जाने, के गर्ने ?’

देउवा सरकारले दमन गर्न खोजे प्रतिकार: बिना मगर

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगरले देउवा सरकारबाट आरक्ष विस्थापितमाथि भइरहेको दमन नरोकिए प्रतिकार गरिने बताइन् । ‘गाँस, बास, कपासको ग्यारेन्टी संविधानले नै गरेको छ ।

त्यो ग्यारेन्टी सरकारले पूरा गर्नुपर्छ,’ उनले भनिन्, ‘यो देउवा सरकार जंगली जन्तु पाल्न मानव आत्माको हत्या गर्ने प्रयास गरिरहेको छ ।’

‘सरकार र जंगली जनावरले कहिले लखेट्छ, कहिले बेघर हुनुपर्छ भन्ने चिन्तामा शिविरका परिवार बसिरहेका छन्,’ उनले भनिन्, ‘यो चिन्ताबाट मुक्ति पाउन यो देशमा स्थायी सरकार र सर्वहाराको सरकार हुनुपर्छ ।

त्यसका लागि वामपन्थी दलहरू एकजुट भएका छन् ।’ जंगली हात्तीले भत्काएका घर बनाउन नदिएको विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने उनले बताइन् ।

देउवा सरकारका हर्कतले भोट माग्न पनि लाज: तारा लामा तामाङ

कार्यक्रममा बोल्दै प्रदेशसभाको १ नम्बर क्षेत्रका उम्मेदवार तारालामा तामाङले शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेसका गलत हर्कतका कारण शिविरमा आएर भोट माग्न लाज लागेको बताए ।

‘आरक्ष विस्थापितका समस्याबारे हरेक राजनीतिक दल जानकार छन् । तर, शेरबहादुर देउवा सरकारका हर्कतले राजनीति र नेताप्रति वितृष्णा बढाएको छ, त्यसैले भोट माग्न लाज लाग्ने अवस्था आएको छ ।’

चुनाव जितेर गएपछि मतको अवमूल्यन हुन नदिने आश्वासन दिँदै तामाङले शेरबहादुर देउवा गृहमन्त्री र प्रधानमन्त्री हुँदै सधैं धेरै परिवार विस्थापित हुनुपरेको र दुःख पाउनुपरेको बताए । ‘आरक्ष विस्थापितलाई खान र लाउन पुग्ने गरी व्यवस्थापन गर्न पहल गर्छु,’ उनले भने, ‘वामपन्थीको सरकारले मात्रै समस्याको स्थायी समाधान गर्न सक्छ ।’

२०५८ सालमा आरक्ष विस्तारका क्रममा विस्थापित भएका ६ सय परिवार ढक्का अस्थायी शिविरमा बस्दै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: