विभिन्न पार्टीबाट एकैदिन ९ सय ७० नेता-कार्यकर्ता माओवादीमा प्रवेश

पार्टी प्रवेश गराउँदै प्रचण्डले बामपन्थीहरुको बलियो केन्द्र बन्न लागेको बताए 

राप्रपाका केन्द्रीय सदस्य मदन थापाको नेतृत्वमा ५५ जना, देवकी खरेलको नेतृत्वमा १३३ जना, प्रकाश विकल्पको नेतृत्वमा नयाँ शक्तिका ५३८ जना, विष्णु भण्डारीको नेतृत्वमा नयाँ शक्तिकै २१ जना, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धश्री लामाको नेतृत्वमा १८ जना, जनसमाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष हरिबहादुर बोहराको नेतृत्वमा ८३ जना, चन्द्रगिरी नगरपालिकाबाट लक्ष्मीकान्त पाण्डेको नेतृत्वमा ३४ जना, राप्रपाका बैकल्पिक केन्द्रीय सदस्य वाङ्दु शेर्पाको नेतृत्वमा १२ जना, तराई मधेश एकता पार्टीका केन्द्रीय सदस्य पासाङ छिरी शेर्पाको नेतृत्वमा १६ जना, बैद्य माओवादीका बिनोद बरामको नेतृत्वमा ३६ जना, नेपाली कांग्रेसका प्रदेश सदस्य छिरिङ दोर्जे शेर्पाको नेतृत्वमा २९ जना लगायतका पार्टी र स्वतन्त्र समूहबाट हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरताको युग समाप्त गरेर विकास र समृद्धिको जग बसाल्न बामपन्थीहरुको बलियो केन्द्र बन्न लागेको बताए ।

उनले भने, ‘नेपालमा जहिले पनि राजनीतिक अस्थिरता, जहिले पनि अल्पमतको सरकार, जहिले पनि सरकार बनाउने–भत्काउने खेल चलिरह्यो ।

यसले देशको विकास र समृद्धिको हाम्रो सपना पुरा हुन सक्दैन । बामपन्थीहरुको एकता र तालमेल बहुमतको सरकारका लागि मात्र होइन, नेपालबाट अस्थिर, अविकास र राजनीतिक झमेला सदाका लागि अन्त्य गर्न हो ।’

यसअघि, वाम गठबन्धनका उम्मेदवारलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा १ नम्बर क्षेत्रको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक वीरबहादुर थापा ‘पातल’ले टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।

राप्रपाबाट गोपालप्रसाद घिमिरे, भेषराज सापकोटा, प्रेमसागर राना, विशाल सापकोटा, दयाराज सापकोटा र लालबहादुर विक, नेपाली कांग्रेसबाट शेरबहादुर पुजारा, दिनेश सिंह, जनकराज जोशी र प्रेम जोशी, नेपाल विद्यार्थी संघका कपिल जोशी तथा नयाँशक्तिका किरण परियार, राजु विक, मोहन एसके, सन्दिप फुलारा, शंकर एसके माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको विकासका लागि बिना मगर र वाम गठबन्धनका उम्मेदवार नै सक्षम भएकाले विकासमा योगदान पु¥याउन माओवादी केन्द्रमा प्रवेश गरेको राप्रपाबाट प्रवेश गरेका गोपालप्रसाद घिमिरेले बताए ।

कांग्रेसका सांसद र उम्मेदवारले विगतमा विकासका लागि खासै काम गर्न नसकेका कारण वाम गठबन्धनका उम्मेदवारलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको कांग्रेसबाट प्रवेश गरेका शेरबहादुर पुजाराले बताए ।

यस्तै,  प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वाम गठबन्धनले शुक्रबार रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभामा सिंह राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अन्चल प्रमुखसमेत रहेका सिंहले प्रदेशसभाको उम्मेदवारीसमेत त्यागेर वाम गठबन्धनलाई सहयोग गर्ने बताएका छन् ।

नेता सिंहलाई उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले अबिर लगाई पार्टी प्रवेश गराएका थिए ।

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट रोल्पाको प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका थिए । सो पार्टीबाट प्रतिनिधिसभामा तीलबहादुर ओली र प्रदेशसभा (ख) मा हरिकला बुढाथोकीको उम्मेदवारी रहेको छ ।

कमेन्ट गर्नुहोस्