साहरुखदेखि सलमान खानसम्म ज्योतिषप्रतिको लगाव र विश्वास

मुम्बई, मंसिर २ । आधुनिक समयमा पनि यी कुराहरु जस्तै– साइत, कुण्डली, जोखाना, पूजाआजा, भाग्य, ग्रहदशा आदि कुरामा विश्वास गर्ने बलिउड क्षेत्रमा पनि यस्ता सुपरस्टारहरु रहेका छन् । नेपाली मात्र नभई चर्चित भारतीय फिल्म स्टार पनि ज्योतिषका कुरामा विश्वस्त हुने गरेको पाइन्छ । बलिउडमा केही कलाकार यतिसम्म अन्धविश्वासी छन् कि उनीहरू ज्योतिषलाई नहेराई घरबाहिरै निस्किँदैनन् । सफलता चुमेका स्टार पनि त्यसको जस ग्रहदशा र ज्योतिषलाई दिन्छन् । भारतीय अनलाइन मिडियाले केही सेलेब्रिटीको ज्योतिषप्रतिको लगाब र विश्वासबारे रिपोर्ट तयार गरेका छन् ।

ब्रास्लेटलाई ‘लक्की चार्म’ मान्छन् सलमान

सलमान खान आफ्ना फिल्म इदमा प्रदर्शन गर्न मन पराउँछन् । आफू अभिनीत ‘वान्टेड’, ‘दवंग’ सुपरहिट चलचित्र जस्ता फिल्म इदमा रिलिज गरिनाले सुपरहिट भएको उनलाई विश्वास छ ।

त्यसैले उनी हरेक साल इदमा आफ्ना फिल्म रिलिज हुनुपर्ने मान्यता राख्छन् । यसबाहेक उनी आफ्ना बाबुले दिएको निलो पत्थरयुक्त ब्रास्लेट कहिल्यै छुटाउँदैनन् । उनी सो ब्रास्लेटलाई आफ्नो ‘लक्की चार्म’ मान्छन् ।

निलमको औँठी र दुवै हातमा घडी

अभिताभ बच्चन टिम इन्डियाको क्रिकेट म्याच कहिल्यै लाइभ हेर्दैनन् । उनी सधैँ रेकर्डेड म्याच मात्र हेर्छन् । जब आफू लाइभ म्याच हेर्न बस्यो, विकेट झर्न सुरु हुन्छ र टिमले म्याच हार्छ । यस्तो धेरैपटक भएकाले अमिताभले रेकर्डेड गेम हेर्न थालेका हुन् । यतिमात्र होइन, उनी निलम पत्थरवाला औँठीमा पनि निकै विश्वास गर्छन् । जब उनी आफ्नो कम्पनी एबिसिएलबाट टाट पल्टिए, त्यसपछि उनले सो औँठी लगाउन थालेका हुन् । औँठी लगाएपछि आफूले कौन बनेगा करोडपति पाएको विश्वास उनको छ । कौन बनेगा करोडपतिपछि अमिताभले पछाडि फर्केर हेर्नुपरेको छैन । उनी दुवै हातमा घडी बाँध्छन् । त्यो उनका लागि भाग्यशाली भइरहेको छ रे । यसबाट पनि उनी निकै अन्धविश्वासी छन् भन्ने पुष्टि हुन्छ ।

आमिरका लागि डिसेम्बर नै ‘लक्की चार्म’

आमिर खान आफ्ना लागि डिसेम्बर महिना भाग्यशाली मान्छन् । पछिल्लो केही वर्षयता उनका धेरैजसो फिल्म डिसेम्बरमा रिलिज भएका छन् । ती सबै फिल्म सुपरहिट भएका छन् । ‘तारे जमिन पर’, ‘गजनी’, ‘थ्री इडियट्स’, ‘धुम ३’ डिसेम्बर महिनामा रिलिज भएका थिए । आमिरको बारेमा डिसेम्बर महिना यतिसम्म महत्वपूर्ण मानिने गरिएको छ कि उनले कान्छी पत्नी किरण रावसँग बच्चा जन्माउने सल्लाह पनि डिसेम्बरमा गरेका थिए ।

सिँढीमुनि हिँड्दैनन् गोविन्दा

एक समयका चर्चित अनि सफल हिरो गोविन्दा निकै अन्धविश्वासी छन् । उनी ज्योतिषको सल्लाहविना घरबाट बाहिरै निस्किँदैनन् । गोविन्दाको यस्तो अन्धविश्वासदेखि मुम्बई पुलिस पनि हैरान भएको छ । गोविन्दाको सुरक्षामा १९ पुलिस खटिएका छन् । तर, उनीहरू कुनैको पनि आफूसँग कुण्डली नमिलेकाले ज्योतिषको सल्लाहअनुसार गोविन्दाले ती पुलिस फेरिरहेका छन् । गोविन्दा सिँढीतलबाट हिँड्न अशुभ मान्छन् । उनी हत्तपत्त त्यस्ता ठाउँमा जाँदैनन् ।

फिल्म रिलिजअघि सिद्धिविनायक दर्शन

अभिनेत्री दीपिका पादुकोणले आफ्नो हरेक फिल्म रिलिजअघि मुम्बईस्थित सिद्धिविनायक मन्दिरको दर्शन गर्ने गरेकी छिन् । आफूले सो मन्दिर दर्शन गर्नाले फिल्म हिट हुने गरेको विश्वास उनको छ ।

के अक्षरमा एकताको मोह

एकता कपुर आफूलाई अन्धविश्वासी मान्दिनन् । तर, उनी आफ्ना हरेक फिल्म र टेलिफिल्मको नाम के अक्षरबाटै राख्ने गर्छिन् । उनी आफूलाई के अक्षर निकै फापेको विश्वास गर्छिन् । यतिमात्रै होइन, उनी स्क्रिप्ट सुन्नुअघि साइत हेराउने गर्छिन् । उनी आफू अध्यात्ममा र अंकज्योतिषप्रति विश्वस्त भएकोे स्विकार्छिन् ।

रणवीरको घाँटीमा कालो धागो

रणवीर सिंह प्रायः बिरामी परिरहन्थे । औषधि उपचार गर्दा पनि निको नभएपछि आमाले ज्योतिषलाई हेराइन् । ज्योतिषले रणवीरको घाँटीमा एउटा कालो धागो बाँध्नुपर्ने बताए । आमाले बाँधिदिएको त्यो कालो धागो रणवीरको घाँटीमा कहिल्यै छुट्दैन । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: