कैलालीमा युवाहरु उद्योग व्यवसायतर्फ आकर्षित

लोकेश धामी

कैलाली, मंसिर २ । कैलालीमा युवाहरु उद्योग व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । आयआर्जन पनि राम्रो र उद्योग खोल्ने वातावरण पनि बन्दै गइरहेकाले यहाँका युवाहरु उद्योग व्यवसायतर्फ आकर्षित हुन थालेका हुन् ।

लामो समयदेखि विदेशमा बसेर सन्तुष्ट नभएका व्यक्ति पनि अहिले स्वदेशमै केही गरौं भन्ने उद्देश्यले उद्योग दर्ता गर्न थालेका छन् । जिल्लामा अधिकांश युवाले घरेलु तथा साना उद्योग दर्ता गरेर राम्रो आयआर्जन पनि गरिरहेका छन् । यसरी कम लगानी तथा राम्रो आम्दानी गर्न सकिने उद्योग दर्ता हुने क्रम पनि बर्षेनी बढिरहेको छ ।

व्यापार गर्ने वातावरणको पत्याभूत हुँदै जानु, रोजगारका अवसरको कमीलगायतका कारण कैलालीका युवाहरुको उद्योग व्यवसायतर्फ आकर्षण बढ्दै गएको हो । पछिल्लो केही वर्षयता विदेशमा काम गरेर स्वदेशमा उद्योग दर्ता गर्ने युवाहरुको संख्या पनि बढ्दो छ । विदेशको कमाइले सन्तुष्ट नभएपछि आफ्नै भूमिमा केही गर्नुपर्छ भनेर कुखुरा फार्म दर्ता गर्न लागेको गौरीगंगा नगरपालिका छोट्की पलियाका बिनम चौधरीले बताए ।

जिल्लामा बर्षेनी उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा ८ सय ९० उद्योग दर्ता भएका थिए । जसमा साढे ५ हजार व्यक्तिले रोजागारी पाएको तथ्यांक छ ।

यस्तै चालू आर्थिक वर्ष २०७४-०७५ को प्रथम चौमाषिकसम्म झण्डै ३ सय विभिन्न प्रकारका उद्योग दर्ता भएका छन् र जसमा १ हजार पाँच सय बढी व्यक्तिले रोजगारी पाइरहेको धनगढी उपमहानगरपालिका उद्योग शाखाका उद्योग अधिकृत दिलिप बहादुर चन्दले जानकारी दिए । अन्यभन्दा कृषिसम्बन्धी उद्योग दर्ता गर्ने क्रम बढेको छ । माछापालन, कुखुरापालन फार्म, तरकारी, दुध डेरीलगायतका उद्योग दर्ता हुने क्रम बढेको हो । यसरी बर्षेनी उद्योग दर्ता हुने क्रम बढेसंगै बढ्दो बेरोजगारीको संख्यामा केही कमी आउने आकलन गर्न सकिन्छ ।

यस्तै चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा दर्ता भएका घरेलु तथा साना उद्योगबाट २७ लाख ६० हजार रुपैयाँ बराबर राजश्व पनि अशुल भएको उद्योग शाखा धनगढीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: