८० बर्षीया बृद्धाले मागिन् उम्मेदवारसंग बृद्धभत्ता

दिपक बोहरा

तुलसीपुर, मंसिर २ । वाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं.३ को १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका माओवादीका नेता जगप्रसाद शर्मा ‘अपार’ जनताका समस्या बुझ्न गाउँगाउँमा पुग्ने गरेका छन् ।

त्यसैक्रममा उनी बिहीबार तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङपुर पुगे । त्यहाँका अधिकांश नागरिकले विकास र सम्बृद्धि मागे । उनीहरुका मागहरु सडक कालोपत्रे, खानेपानी, सिंचाईको सुबिधा उपलब्ध हुनुपर्नेः यस्तै–यस्तै थिए ।

तर त्यहाँकी ८० बर्षीया एक बृद्धा आमाको पीडा फरक थियो । उम्मेदवार अपारसंग उनले फरक माग राखिन् । उनले उम्मेदवारसँग विकास मागिनन् । उनको माग थियो बृद्धभत्ता । सरकारले ७० बर्षमा भएदेखि वृद्धभत्ता प्रदान गर्छ ।

तर, तुलसीपुर १४ ड्वाङपुरकी कमारीदेवी रावतले अहिलेसम्म वृद्धभत्ता खान पाएकी छैनन् । त्यसैले उनले उम्मेदवार अपारसँग वृद्धभत्ता उपलब्ध गराईदिन माग गरिन् ।
उनले साबिक सैघा गाबिस ४ मा बसोबास गर्दा भत्ता पाईरहेको भएपनि त्यहाँ बसाईसराई गरिसकेपछि अहिलेसम्म पनि सरकारले बृद्धभत्ता उलब्ध नगराएको उनले बताईन् । वडा कार्यालयमा पुग्दा यो या त्यो बाहाना बनाएर बृद्ध भत्ता उपलब्ध नगराएको उनका छोरा बुद्धिराम रावतले बताए ।

त्यस अवसरमा उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले ती बृद्धलाई वृद्धभत्ता उपलब्ध गराउन पहल थाल्ने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्