पशुपति आर्यघाटमा प्रचण्डले दिए दागबत्ती छोरा प्रकाशलाई

 

काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशको हृदयघातका कारण निधन भएको छ । पशुपति आर्यघाटमा आजै साँझ ४ बजे प्रकाशको अन्त्येष्टि गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका बुवा पुष्पकमल दाहालले प्रकाशको पार्थिव शरिरमा दागबत्ती दिएको थियो ।

प्रकाशलाई उपचारका लागि राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याएपनि चिकित्सकले करिब ६ घण्टापछि दिउँसो साढे १२ बजेतिर पत्रकार सम्मेलन गरी आकस्मिक ह्दयघातका कारण मृत्यु भएको बताएका थिए ।

घरमा अचेत फेला परेपछि सुरक्षा गार्डको सहयोगमा बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएका दाहाललाई करीब १० मिनेटको प्रयास असफल भएपछि ५ बजेर ५९ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । यद्यपि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका बुवा पुष्पकमल दाहाललाई झापाबाट काठमाडौं फर्कन समय लागेको र काठमाडौं ओर्लिएपछि पनि पारिवारिक सल्लाहका लागि लाजिम्पाटस्थित निवास गएकाले अस्पतालले ६ घण्टापछि मात्र प्रकाशको मृत्युबारे सञ्चारकर्मीलाई जानकारी गराएको थियो । पत्रकारसँग अस्पतालका चिकित्सक जेपी जैसवालले भन्नुभयो, ‘९९ प्रतिशत ह्दयघात भएको हो १ प्रतिशत मस्तिष्कघात हुन सक्छ ।’

चिकित्सक जैसवालले अस्पताल ल्याउँदै प्रकाशको शरीर कडा भइसकेको बताए । उनले भने, ’अस्पताल ल्याउँदा उनको नाडीमा पल्स थिएन । शरीर चिसो भइसकेको थियो ।’ अन्तिम श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरिरलाई केहीबेर काठमाडौंको कोटेश्वरस्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा राखिएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्ना छोरा प्रकाशको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरे । प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिन चुनावी प्रचारप्रसारका लागि विभिन्न जिल्लामा रहेका माओवादी केन्द्रका नेताहरु काठमाडौं फर्किएका छन् ।

निवर्तमान सभामुख ओनसरी घर्ती, उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, अग्नी सापकोटा लगायत नेताहरु काठमाडौं फर्केको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: