Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने झापा २ का उम्मेदवारको साझा प्रतिबद्धता

तस्वीरः कमलप्रसाद पाण्डे (बिनोद)

बिर्तामोड, मंसीर ३। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउने झापा क्षेत्र नं.२ का उम्मेदवारहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको उम्मेदवारहरुसँगको छलफलमा उनीहरुले निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न आफ्नो तर्फबाट छ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । झापा २ का उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनलाई भयरहीत र द्वन्द्वरहीत बनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै निर्वाचन प्रचारलाई तडकभडकरहीत, कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने समेत उनीहरुको प्रतिबद्धता छ । उम्मेदवारहरुले एकअर्काको सहअस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गरी असल राजनीतिक संस्कारको विकास गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

साझा प्रतिबद्धतामा झापा २मा प्रतिनिधिसभा सदस्य पदका लागि लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उद्धव थापा, बाम गठबन्धन अन्तर्गत नेकपा एमालेबाट उम्मेदवार पवित्रा निरौला खरेल, नयाँशक्ति पार्टीका उम्मेदवार भक्तबहादुर बुढाथोकी, राष्ट्रिय जनता पार्टीका उम्मेदवार महावीर राई, देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवार होमचन्द्र घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार पर्शुराम मगर र संघीय लोकतान्त्रिक मञ्चका उम्मेदवार मानबहादुर साँवाले हस्ताक्षर गरेका छन् ।
त्यस्तै क्षेत्र नं.२ प्रदेशसभा १ बाट बाम गठबन्धन अन्तर्गत एमालेबाट उम्मेदवार बनेका एकराज कार्की, प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसबाट उम्मेदवार खड्गप्रसाद प्रसाईं, एमालेबाट उम्मेदवार बृखबहादुर प्रधान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवार बनेका नगेन्द्र राईले समेत साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

उनीहरुले सबै राजनीतिक दल र उम्मेदवारहरुबीच सम्बन्ध सुधार गरेर निर्वाचनलाई सौहार्द र शान्तिपूर्ण बनाउन संवाद समूह झापाले निर्वाह गरिरहेको भूमिका महत्वपूर्ण रहेको भनी प्रशंसा समेत गरेका छन् । संवाद समूहको संयोजनमा सबै पार्टीका उम्मेदवारलाई एकै ठाउँमा उपस्थित गराएर उच्च राजनीतिक संस्कारको प्रदर्शन गरिएको पनि उनीहरुको भनाइ थियो । छलफलको सहजीकरण सहजकर्ता अधिवक्ता खगेन्द्र खरेल र पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

उम्मेदवारका एजेण्डा यस्ता छन्ः

झापा २ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उद्धव थापाले दीगो शान्ति, संविधानको कार्यान्वयन, मुलुकलाई समृद्ध बनाउने कार्यका लागि आफ्नो उम्मेदवारी रहेको बताए । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी आफ्नो प्रमुख प्राथमिकता रहेको थापाले बताए । उनले कृषि क्षेत्रको क्रान्ति, पर्यटनको प्रचुर विकास र पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने पार्टीको संघीय एजेन्डा समेत प्रस्तुत गरे । बिर्तामोड र अर्जुनधारा २ नं.क्षेत्रको गहना भएको बताउँदै उनले ती क्षेत्रलाई हरियालीयुक्त स्मार्ट सिटी बनाउने उद्घोष गरे । रोजगारीको सिर्जना, सामाजिक सुरक्षा भत्ता वृद्धि, नदी नियन्त्रण, सबै धार्मिक समुदायबीच एकता आफ्नो एजेण्डा रहेको बताउँदै थापाले भने– ‘यदि २ नं.क्षेत्रबाट म निर्वाचन भएँ भने सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने छु, यहाँ कोही सुकुम्बासी रहने छैनन् ।’

निर्वाचनमा धेरै पार्टीबीच गठबन्धन हुँदैमा निर्वाचन नजितिने बताउँदै उनले जीतको निर्णय जनताको हात रहेको उल्लेख गरे । आफूले राजनीतिक विचारभन्दा माथि उठेर क्षेत्रको विकास र यहाँको जनताको सेवामा लामो समयदेखि समर्पित भएकोले यसपटकको निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे । भने– ‘जसले जनताको विश्वास जित्छ उसले निर्वाचन जित्छ ।’

दोस्रो संविधानसभाको निर्वाचनमा झापा ४ बाट २० हजार बढी मत ल्याए पनि उनी उपविजेता बनेका थिए । त्यसबेलाको ४ र २ नं.क्षेत्र मिलेर अहिलेको २ नं। क्षेत्र बनेको बताउँदै थापाले यसमा ४ नं.को हिस्सा बढिरहेकाले आफूले पहिले प्राप्त गरेको मतका आधारमा निर्वाचन जित्ने जिकिर गरे । त्यस्ताका उपविजेता बने लगत्तै आफू निरन्तर जनताको सेवा र विकासमा लागेको तथा आफ्नो पहलमा विभिन्न ठाउँमा सडक, पुल र नदी नियन्त्रणको काम भएकाले त्यसबाट आफूप्रति स्थानीय जनताको विश्वास बढेकाले त्यो नै आफ्नो निर्वाचन जीतको आधार भएको थापाले उल्लेख गरे । थापा नेपाली कांग्रेस झापाका सभापति समेत हुन्।

एमालेबाट प्रतिनिधि सभाका लागि सदस्य पदकी उम्मेदवार पवित्रा निरौला खरेलले दीगो शान्ति, समृद्धि, संविधान कार्यान्वयन र स्थायी सरकारसँगै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी आफ्नो मूल एजेन्डा रहेको बताइन् । २ नं.क्षेत्रमा आवागमन सहज बनाउन सडक बिस्तार, सडकको स्तरोन्नति, झोलुङ्गे पुल, पर्यटकीय क्षेत्रको विकास, अर्जुनधारा र साधुटारलाई धार्मिक पर्यटनको रुपमा विकास, यस क्षेत्रमा पर्ने पाँच पोखरीको संरक्षण, शहीद पार्कको विकास र भ्यू टावरको निर्माणमा आफ्नो योगदान रहने बताइन् । उनले जल, जंगल, जमिन, जनशक्ति, जैविक विविधता र पर्यटनको विकासमा विशेष जोड दिइन् । २५ वटा वडामा रहेको २ नं.क्षेत्रको भौतिक विकाससँगै सामाजिक सद्भाव आफ्नो प्राथमिकतामा रहेको उनले बताइन् ।

आफूले प्रस्तुत गरेका विकास निर्माणका एजेण्डा पाँच वर्षमा पूरा गर्ने उनले बताइन् । झापा २ बामपन्थीको गढ भएको र संगठन नै शक्ति भएको हुनाले यहाँ आफ्नो जीत निश्चित रहेको दाबी गरिन् । प्रखर महिला नेतृको रुपमा उनले आफ्नो पहिचान बनाएकी छिन् । दोस्रो संविधान सभाको निर्वाचनमा उनी उपविजेता बनेकी थिइन् । उनका श्रीमान् नरेश खरेल पूर्व सांसद हुन् ।

नयाँ शक्ति पार्टीबाट प्रतिनिधि सभाका लागि सदस्य पदका उम्मेदवार भक्तबहादुर बुढाथोकी (कुमार क्षेत्री) ले अबको पालो विकास र समृद्धिको भएको हुनाले त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, वेरोजगारी र गरिबीको समस्या हल, राजनीतिक स्थिरता, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था, जातीय दृष्टिले राज्यका तहमा समान सहभागिता, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, स्थानीय तहलाई पूर्ण अधिकार प्रत्यायोजन, पर्यटनको विकास, विरीङ नदी नियन्त्रण आफ्नो प्राथमिकताका एजेण्डा रहेको उनले बताए ।

राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभाका लागि सदस्य पदका उम्मेदवार महावीर राईले पहिचान तथा हक अधिकार सुनिश्चितताका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले पहिचानसहितको अधिकार जनतामा पुर्याउनका लागि आफूलाई मतदान गर्न आग्रह समेत गरे ।

देशभक्त जनगणतान्त्रिक मोर्चाबाट प्रतिनिधि सभाका लागि सदस्य पदका उम्मेदवार होमचन्द्र घिमिरेले नेपालमा राजनीतिक क्रान्ति पूरा नभएको र त्यसलाई पूर्णता दिन आफू चुनावी मैदानमा उत्रिएको बताए । मुलुक अहिलेको गतिहीन अवस्थामा रहनुमा नेतृत्वको दोष रहेको बताउँदै उनले जनताको पक्षमा भोलि संसदमा आवाज बुलन्द गर्ने बताए । निर्वाचित भएमा जनताका प्राथमिकताका विषय हेरेर काम गर्ने उनको भनाइ छ ।

राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभाका लागि सदस्य पदका उम्मेदवार पर्शुराम मगरले जातीय जनसंख्याको आधारमा राज्यका हरेक तहमा प्रतिनिधित्व सुनिश्चितता र हाम्रो विकास, हाम्रो सहभागिता, हाम्रै संरक्षणका लागि आफूले उम्मेदवारी दिएको बताए । चुरे क्षेत्रमा झोलुङ्गे पुल निर्माणदेखि लिएर स्थानीय तहबाटै विकास निर्माणका कार्यलाई बिस्तार गर्ने योजना रहेको उनले सुनाए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रतिनिधि सभाका लागि सदस्य पदका उम्मेदवार मानबहादुर साँवाले शिक्षा क्षेत्रमा परिवर्तन, जनशक्ति व्यवस्थापन, विकास निर्माण, वृद्धवृद्धालाई नगद होइन सेवा, युवा वेरोजगार समस्याको समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

झापा २ प्रदेश सभा क्षेत्र १ मा एमालेबाट उम्मेदवार बनेका एकराज कार्कीले संविधान कार्यान्वयन, समृद्ध नेपाल, सुखी नेपाली, स्थायी सरकार विकास निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले सुकुम्बासी समस्याको समाधान, विरीङ खोला नियन्त्रण, सार्वजनिक विद्यालयका अतिक्रमिक जग्गाको उचित व्यवस्थापन, अन्धुवा खोलाबाट हुने डुवान नियन्त्रण, औद्योगिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहने बताए ।

झापा २ प्रदेश सभा क्षेत्र २ मा कांग्रेसबाट उम्मेदवार बनेका खड्गप्रसाद प्रसाईंले सही नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको बताए । दीर्घकालीन रुपमा विरीङ खोलको नियन्त्रण, अर्जुनधारालाई धार्मिक पर्यटन नगरी बनाउने लगायत जनताका सरोकारका काम गरेर देखाउन आफू चुनावी मैदानमा होमिएको प्रसाईंको भनाइ छ । जनताको मनोभावना हाम्रोभन्दा पनि राम्रो मान्छे भएकाले जनताको भावना अनुसार आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ ।

झापा २ प्रदेश सभा क्षेत्र २ मा एमालेबाट उम्मेदवार बनेका बृखबहादुर प्रधानले स्थिर सरकार, स्थायी शान्ति र समृद्धिका साथै कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, रोजगारीको ग्यारेन्टी आफ्नो मुख्य एजेण्डा रहेको बताए । उनले उद्योगको विकास, नदी नियन्त्रण, वन क्षेत्रको उचित व्यवस्थापनमा लाग्ने प्रतिबद्धता समेत जनाए । मत माग्नेक्रममा सबै क्षेत्रबाट राम्रो सद्भाव प्राप्त भएको समेत उनको भनाइ छ ।

झापा २ प्रदेश सभा क्षेत्र २ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवार बनेका नगेन्द्र राईले जनताको हितका लागि आफू चुनवामा होमिएको बताए । दशौं वर्षदेखि आफू समाजसेवामा क्रियाशील रहेको, अन्यायमा परेकालाई न्याय दिलाएको र आचारसंहिताको पूर्ण पालना गरेर अघि बढेको हुनाले जनताको मन र मत जित्न सक्छु भन्ने विश्वासका साथ चुनावी मैदानमा रहेको राईले बताए । राईले विकास निर्माण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाए ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: