सार्वजनिक शौचालय पर्याप्त नहुँदा समस्या

लोकेश धामी

कैलाली, मंसिर ४ । कैलालीको धनगढी नगर क्षेत्रभित्र पर्याप्त सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ । स्थानीय निर्वाचनमा नगर क्षेत्रको सरसफाइ तथा शौचालय थप्ने विषयलाई चुनावी नारा बनाएका जनप्रतिनिधिले अहिले आएर ध्यान नदिँदा समस्या भएको हो । नगरभित्र रहेका शौचालयको अवस्था पनि दयनीय छ ।

अधिकांश शौचालय निकै दुर्गन्धित तथा फोहोर छन् । नियमित सरसफाईमा ध्यान नदिदा धेरैजसो शौचालय प्रयोग विहीनजस्तै बनेका छन् । चुनावका बेला जनप्रतिनिधिले धनगढीको सरसफाइमा ध्यान दिन्छु भनी भोट मागेका भएपनि अहिले आएर धोका दिएको एकजना रिक्सा चालक हिरालाल रानाले गुनासो गरे ।

स्थानीय तहको निर्वाचनका बेला जनप्रतिनिधिहरुले शौचालय थप्नेदेखि सरसफाइमा विशेष ध्यान दिने भनी भोट मागेका भएपनि अहिले आएर धोका दिएको नगरबासीले आरोप लगाएका हुन् । आफू जितेमा शौचालय थप्नुका साथै नगर क्षेत्रको मुहार फेर्ने भनी चुनावी मुख्य एजेण्डा बनाएका भएपनि जनप्रतिनिधिले पूरा नगरेको स्थानीय एकिन्द्र कडेंलले बताए ।

नगर क्षेत्रमा भएका शौचालय पनि निकै फोहोर छन् । अधिकांश शौचालयमा पानी नहुँदा प्रयोग विहीनजस्तै छन् । नियमित सरसफाइमा ध्यान नदिँदा शौचालय प्रयोग गर्न नै नसकिने अवस्थामा रहेका स्थानीय रतिलाल चौधरीले बताए ।

वर्षेनी जनसंख्याको चाप बढ्दै गएपनि तीन वर्षयता नगर क्षेत्रमा थप शौचालय बनाउन सकिएको छैन । अहिले नगर क्षेत्रका विभिन्न आठ स्थानमा सार्वजनिक शौचालय रहेका छन् । अधिकांश शौचालयमा पैसातिर प्रयोग गर्न दिइएका भएपनि सरसफाइमा भने ध्यान जान सकेको छैन । धनगढी उपमहानगरपालिका कार्यालयले जग्गा अभावमा थप शौचालय बनाउन नसकिएको बताएको छ ।

विभिन्न क्लब, व्यक्ति तथा समुदायलाई शौचालय संचालनका लागि जिम्मा दिएकाले सरसफाइमा भने ध्यान दिन नसकेको उपमहानगरपालिका कार्यालयले स्वीकार गरेको छ । जग्गा अभावमा शौचालय बनाउन नसकिए पनि घुम्ती शौचालय ल्याउन तयारी भइरहेको उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंक विष्टले जानकारी दिए ।

जग्गा अभाव तथा उपमहानगरपालिका कार्यालयको लापरबाहीले विगतका वर्षमा शौचालय थपका लागि आएको बजेट फ्रिज भएको थियो । जसले गर्दा नगर क्षेत्रमा पर्याप्त शौचालय बन्न सकेका छैनन् । चाहिने जति सार्वजनिक शौचालय नहुँदा उपमहानगरपालिकालाई निर्धारित मितिमै खुला दिसामुक्त गर्न पनि चुनौती थपिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: