निर्वाचनको मुखैमा आउँदा रातारात सिडिओ सरुवा

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा सरकारले रातारात आधा दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

निर्वाचन आचारसंहिता अनुसार सरुवा गर्न नमिल्ने भएपनि गृह मन्त्रालयले सोमबार राति आधा दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

गृहमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ भुपेन्द्र क्षेत्रीलाई क्षेत्रीय प्रशासन कार्यालय हेडौंडामा सरुवा गरी उनको ठाउँमा गृहमन्त्रालयका सूर्य खनाललाई लगिएको छ । त्यसैगरी भोजपुरका प्रजिअ चेतराज बराललाई राष्ट्रिय परिचयपत्रमा सरुवा गरी, गृहमन्त्रालयका फणिन्द्र दहाललाइ लगिएको छ।
रसुवाकी हरिदेवी पौडेललाई अध्यागमन विभागमा सरुवा गरी गृहमन्त्रालयका चोमेन्द्र न्यौपानेलाई पठाइएको छ ।

नुवाकोटका जगदिशराज बराललाई प्रहरी किताब खानामा सरुवा गरिएको छ भने उक्त स्थानमा गृहमन्त्रालयका वीरेन्द्र कुमार यादवलाई पठाइएको छ डोटीको प्रजिअमा पनि गृहमन्त्रालयकै सूर्यबहादुर खत्रीलाई पठाइएको छ ।

अझै केही जिल्लाका सिडिओ हेरफर गर्ने गृहकार्य चलिरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्