Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चार महिनामा ४५ सम्बन्धविच्छेदका घटना दर्ता

लोकेश धामी

कैलाली, मंसिर ६ । कैलाली जिल्लामा श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेद हुने घटना बढ्दै जान थालेका छन् । अधिकारप्रति देखिएको सचेतना, सामाजिक परम्परागत संस्कारमा आउन थालेको आधुनिकतासगै देखिन थालेको फेरबदल, विवाहपछि अर्कैसंग सम्बन्ध बढाउने लगायतका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै जान थालेका हुन् ।

सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा अदालतमा यससम्बन्धी मुद्दा दर्ता हुने क्रम बढेको छ । महिला हिंसाविरुद्ध महिला जागरुक हुनु, पारिवारिक जीवनशैलीमा परिवर्तन हुनु, आर्थिक पक्षमा श्रीमान्–श्रीमती बीचको कुरा नमिल्नु जस्ता कारणले सम्बन्ध बिच्छेदको घटनामा बृद्धि भएको हो ।

यतिमात्रै होइन बालविवाह तथा सामाजिक संजालको दूरुपयोगका कारण पनि सम्बन्ध विच्छेदका घटना बढि रहेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिबक्ता प्रकाशबहादुर भण्डारीले बताए ।

अंश दिलाई सम्बन्ध विच्छेद गर्नु पर्ने कानुनी व्यवस्था रहेको भए पनि अंश नलिइकन सम्बन्ध विच्छेद गराउन चाहनेहरु बढी रहेको बताइएको छ । अंश नलिई सम्बन्ध विच्छेद गराउन चाहनेको मुद्दाको फैसला तुलनात्मक रुपमा छिटो हुने गरेको छ । तर, अंश सहितको सम्बन्ध विच्छेद गर्न चाहनेहरुको फैसलामा केही ढिलाइ हुने गरेको छ ।

सम्बन्ध विच्छेदले श्रीमान्– श्रीमतिको जीवन फेरिए पनि बालबालिका भने प्रभावित हुने गरेका छन् । सम्बन्ध विच्छेदका कारण बालबालिकाको लालन पालन तथा शिक्षा दीक्षामा ध्यान नजाने गरेको जिल्ला न्यायाधिबक्ता भण्डारीको भनाई छ ।

आर्थिक वर्ष २०७२-०७३ मा जम्मा १ सय ३१ सम्बन्ध विच्छेदका मुद्धा परेकोमा गत आर्थिक बर्षमा त्यो सख्या बढेर १ सय ५१ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा ९८ र गत आर्थिक वर्षमा १ सय २६ मुद्दा फछ्र्यौट भएको अदालतले जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०७४-०७५ को प्रथम चौमासिकमा ४५ वटा सम्बन्ध विच्छेद सम्बन्धी मुद्धा परेको र ३ वटा मुद्धा फछ्र्यौट भएको अदालतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: